आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।  समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।  पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ । हालसम्म १३ सय १३ जना साना बचतकर्ताले बचत फिर्ता पाइसकेको समितिले जनाएको छ।

 

२- पुँजी बजारको अवस्था पछिल्लो १० महिनामा समग्रमा सुधार भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार नेपाल धितोपत्र बजार सूचकाङ्क २०८२ वैशाख मसान्तमा २६२०.२७ रहेकोमा २०८३ वैशाख मसान्तमा बढेर २७३०.१८ कायम भएको छ । त्यस्तै, २०८३ वैशाख मसान्तसम्ममा धितोपत्र बजारको कुल बजार पुँजीकरण रु. ४६५६ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष २०८२ वैशाख मसान्तमा यो रकम रु. ४३५८ अर्ब ७१ करोड थियो । सो अवधिमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको हिस्सा २०८२ मा ७०.३० प्रतिशत रहेकोमा २०८३ मा ७०.५५ प्रतिशत पुगेको छ । २०८३ वैशाख मसान्तसम्म नेपाल धितोपत्र बजारमा सूचीकृत कम्पनीको संख्या २९४ पुगेको छ । अघिल्लो वर्ष यो संख्या २७१ थियो । सूचीकृत कम्पनीमध्ये १३३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । त्यसैगरी १०३ जलविद्युत् कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको बजार पुँजीकरण हिस्सा सबैभन्दा बढी ५०.७ प्रतिशत रहेको छ । त्यसपछि जलविद्युत् कम्पनीको १७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.८ प्रतिशत, लगानी कम्पनीको ६.९ प्रतिशत, व्यापारिक संस्थाको ४.६ प्रतिशत, होटल क्षेत्रको ३.३ प्रतिशत र अन्य समूहको ८.३ प्रतिशत हिस्सा रहेको छ । २०८३ वैशाख मसान्तसम्म सूचीकृत कम्पनीका कुल ९ अर्ब ४८ करोड कित्ता शेयरको चुक्ता मूल्य रु. ९३४ अर्ब ८ करोड पुगेको छ । समीक्षा अवधिमा अर्थात् आर्थिक वर्ष २०८२-८३ को दश महिनामा विभिन्न प्रकारका धितोपत्र थप सूचीकृत भएका छन् । यस अवधिमा रु. ४५ अर्ब ५४ करोड बराबरको साधारण शेयर, रु. ४० अर्ब ३३ करोड बराबरको बोनस शेयर, रु. ९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, रु. २७ अर्ब ५० करोड बराबरको सामूहिक लगानी कोष, रु. ३ अर्ब ४५ करोड बराबरको ऋणपत्र, रु. ९७ करोड १७ लाख बराबरको थप सार्वजनिक निष्काशन र रु. २ करोड २९ लाख बराबरको अन्य गरी कुल रु. १ खर्ब ३६ अर्ब ३० करोड बराबरको धितोपत्र सूचीकृत भएका छन् । त्यसैगरी, सोही अवधिमा नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनका लागि अनुमति दिएको विवरणअनुसार रु. २७ अर्ब २३ करोड बराबरको सामूहिक लगानी कोष, रु. ९ अर्ब १२ करोड बराबरको साधारण शेयर, रु. ४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, रु. २० करोड बराबरको ऋणपत्र र रु. ५ करोड बराबरको थप सार्वजनिक निष्काशन गरी कुल रु. ४१ अर्ब ५३ करोड बराबरको धितोपत्रलाई अनुमति प्रदान गरिएको छ ।

३- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भए पनि व्यापार घाटा अझै बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वैशाख मसान्तसम्म कुल वस्तु निर्यात १४.२ प्रतिशतले वृद्धि भई २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ७२.७ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १६.१ प्रतिशत तथा अन्य मुलुकतर्फको निर्यात ९.५ प्रतिशतले बढेको छ । तर चीनतर्फको निर्यात भने ४१.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैँची, पाम तेल, चाउचाउ तथा जुटजन्य सामग्रीको निर्यात बढेको छ । यद्यपि जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैँचा तथा हस्तकलाका सामग्रीको निर्यातमा कमी आएको छ । त्यसैगरी, समीक्षा अवधिमा कुल वस्तु आयात १४.८ प्रतिशतले वृद्धि भई १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात १३.१ प्रतिशतले बढेको थियो । मुलुकगत आधारमा भारतबाट हुने आयात १०.६ प्रतिशत, चीनबाट २१.४ प्रतिशत तथा अन्य मुलुकबाट २०.७ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारीसाधन तथा तिनका जगेडा पुर्जा, भटमासको कच्चा तेललगायत वस्तुको आयात बढेको छ । तर हट रोल्ड सिट इन क्वाइल, खाने तेल, लसुन, दाल, एमएस तार, छड, बार तथा क्वाइलको आयात घटेको छ । निर्यातको तुलनामा आयात उच्च रहँदा व्यापार घाटा पनि बढेको छ । चालु आर्थिक वर्षको दश महिनामा कुल वस्तु व्यापार घाटा १४.९ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ६.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १४.८ प्रतिशतभन्दा केही कम हो । प्रतिवेदनअनुसार समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ६० अर्ब ८० करोड रुपैयाँ बराबरका वस्तु आयात गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ बराबरको थियो ।

४- चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म नेपालमा भित्रिएको विप्रेषण रकम ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो । वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड विप्रेषण नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ६५ अर्ब ३० करोड विप्रेषण भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । त्यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो । वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको देखिएको छ । समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३६४ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको थियो ।

images

५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ गृहमन्त्रीमा पुन: नियुक्त भएका छन् । त्यस्तै स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गुरुङलाई गृहमन्त्रीमा र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् । नियुक्तिपछि गुरुङ र पुनले पद तथा गोपनियताको शपथ समेत लिएका छन् । शितल निवासमा आयोजित कार्यक्रममा गुरुङ र पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । आफ्नो सम्पत्ति विवाद बारे चौतर्फी प्रश्न उठेपछि गुरुङले गत बैशाख ९ गते राजीनामा दिएका थिए । गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न सरकारले बनाएको समितिले दोषी नदेखाएपछि उनको गृह मन्त्रालयमा कमब्याक भएको हो ।

images

६-  भारतीय क्रिकेटका स्टार विराट कोहली भारतका सबैभन्दा मूल्यवान व्यक्तित्वको सूचीमा पहिलो स्थानमा परेका छन् । उनको ब्रान्ड मूल्य ३ अर्ब ५४ करोड २० लाख भारतीय रुपैयाँ रहेको छ । फर्च्युन इन्डिया र इन्टरब्रान्डले संयुक्त रूपमा सार्वजनिक गरेको भारतका २५ सबैभन्दा मूल्यवान चर्चित व्यक्तित्वहरूको अध्ययनमा अभिनेता शाहरुख खान दोस्रो तथा अभिनेत्री प्रियंका चोपडा जोनस तेस्रो स्थानमा रहेका छन् । अध्ययनअनुसार शीर्ष १० स्थानभित्र तीन जना क्रिकेटर र सात जना चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तित्व परेका छन् । महिला व्यक्तित्वतर्फ प्रियंका चोपडा जोनस सबैभन्दा माथिल्लो स्थानमा रहेकी छन् । यसबाहेक दीपिका पादुकोण ११औँ, रश्मिका मन्दाना १७औँ स्थानमा परेका छन् । सूचीमा कृति सेनन, भारतीय महिला क्रिकेट टोलीकी खेलाडी स्मृति मन्धाना तथा दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री नयनताराले पनि स्थान बनाएका छन् । त्यस्तै गायक तथा अभिनेता दिलजीत दोसाञ्झ, चलचित्र निर्माता करण जोहर, पूर्व क्रिकेटर सौरभ गांगुली र अभिनेता विक्की कौशल पनि सबैभन्दा मूल्यवान व्यक्तित्वहरूको सूचीमा समावेश छन् । अध्ययनमा व्यक्तित्वहरूको मूल्याङ्कन गर्दा केवल आम्दानी, सामाजिक सञ्जालका अनुयायीको संख्या वा चलचित्रको व्यापारिक सफलतालाई मात्र आधार बनाइएको छैन । विशिष्टता, निरन्तरता, जनसम्पर्क, विश्वास, आत्मीयता र सामाजिक जिम्मेवारीजस्ता पक्षहरूलाई समेत समेटेर अन्तिम ब्रान्ड मूल्य निर्धारण गरिएको अध्ययनमा उल्लेख छ ।

images

७- मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । आज समुह चरणका सबै खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देश र क्वाटरफाइनलको समीकरण टुंगो लागेको हो ।  जस अनुसार समुह ए बाट थाइल्याण्ड र जापान, समुह बी बाटयुएई र ओमान, समुह सी बाट इन्डोनेसिया र मलेसिया र समुह डी बाट हङकङ र नेपाल क्वाटरफाइनलमा पुगेका छन् । अब क्वाटरफाइनलका खेलहरु बुधबार हुदैछन् ।  जसमा नेपालले थाइल्याण्डको सामना गर्ने भएको छ भने हङकङले जापानको सामना गर्ने भएको छ ।  यी दुवै खेल बिहान सवा ७ बजेदेखि शुरु हुने छन् ।  त्यस्तै युएईले मलेसिया र इन्डोनेसियाले ओमानसँग क्वाटरफाइनलमा खेल्ने तय भएको छ ।  यी दुवै खेल विहान ११: ४५ बजेदेखि शुरु हुने छन् । १८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुने छन् ।

८- दक्षिणी लेबनानको प्रमुख सहर टायरमा इजरायलले जारी गरेको नयाँ खाली गराउने आदेशपछि नागरिकहरूको पलायन जारी रहेको छ । लेबनानी नागरिक सुरक्षा टोलीहरू वृद्धवृद्धा, बिरामी तथा अन्य जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन जुटेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायली चेतावनीपछि ठूलो संख्यामा मानिसहरूले आफ्नो घर छाडेर सुरक्षित क्षेत्रतर्फ जान थालेका छन् । परिस्थितिलाई मध्यनजर गर्दै राहत निकायहरूले विशेष उद्धार तथा स्थानान्तरण अभियान सञ्चालन गरेका छन्, जसअन्तर्गत आफैं यात्रा गर्न नसक्ने नागरिकलाई सुरक्षित स्थानमा लगिने काम भइरहेको छ । उद्धार टोलीहरूले संवेदनशील तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याइरहेका छन् । एम्बुलेन्स तथा अन्य राहत सवारीसाधनमार्फत धेरै वृद्धवृद्धालाई सहरबाहिर स्थानान्तरण गरिएको छ । यसपटक इजरायली सेनाले जारी गरेको खाली गराउने आदेशमा टायरको ख्रीष्टियन समुदायको बाहुल्य रहेको क्षेत्र पनि समेटिएको छ । यसअघि यस्ता आदेशबाट उक्त क्षेत्र प्रायः बाहिर रहने गरेको थियो । नयाँ आदेशपछि स्थानीय बासिन्दामाझ चिन्ता बढेको बताइएको छ । इजरायली सेनाले सम्बन्धित क्षेत्रमा हिजबुल्लाहका लडाकुहरू सक्रिय रहेको र त्यहाँ सैन्य गतिविधि सञ्चालन भइरहेको दाबी गरेको छ । यद्यपि ती दाबीहरूको स्वतन्त्र रूपमा तत्काल पुष्टि हुन सकेको छैन । यसअघि सोमबार इरान र इजरायलले एक अर्काविरुद्ध मिसाइल आक्रमण गरेपछि इरानले लेबनानमाथि आक्रमण जारी राखेमा फेरी मिसाइल प्रहार गर्ने चेतावनी दिएको थियो ।

Nepal life insurance

९- नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३. ५९ विन्दुमा पुगेर रोकिएको छ । आज ३५७ कम्पनिका एक करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६ अर्ब ४४ करोड ३१  लाख ९० हजार २९१ मा कारोबार भएको थियो ।  आज होटल्स, हाइड्रो, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सोपा फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी क्रेस्ट माइक्रो लाइफको शेयर ९.१६ प्रतिशतले घटेको छ ।  त्यस्तै आज सबै भन्दा बढी कृषि विकास बैंकको बन्डको ५७ करोड बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश अधिवेशन स्थगित भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै जेठ २८ गतेका लागि तय भएको प्रदेश अधिवेशन स्थगित गरेको हो । केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले अर्को निर्णय नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया स्थगन भएको उल्लेख गरेका छन् ।  पार्टीको विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४९ बमोजिम आयोगलाई प्राप्त अधिकार प्रयोग गरी उक्त निर्णय गरिएको उल्लेख गरिएको छ । मधेस प्रदेशको अधिवेशन निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्नका लागि अधिवेशन स्थगित गरिएको बताइएको छ ।  अधिवेशनलाई लिएर पर्सा र सिरहामा कार्यकर्ताहरुबीच झडप भएको थियो भने विवादकाबीच पर्साको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भए पनि सिरहाको हुन सकेको छैन । त्यस्तै बारा जिल्लाको अधिवेशन पनि स्थगित गरिएको छ ।

११- संसदको गतिरोध खुलाउन श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मध्यमार्गी प्रस्ताव अगाडी सारेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद साम्पाङले संकल्प प्रस्ताव पेश गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभाको रेकर्डबाट हटाउने र प्रधानमन्त्रीको लिखत वक्तव्य समेत समावेश गरी आगामी दिनहरुमा यस्ता नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री र प्रतिनिधिसभाका सांसदहरु कोही कसैले यस्ता राष्ट्रघाती र तथ्यहिन अभिव्यक्ति कहिकतै नदिने, दिन नपाउने, राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता प्रतिपक्ष नभनि देशको पक्षमा एकतावद्ध बन्नु पर्ने संकल्प प्रस्ताव अघि सारेका हुन् । उनले सभामुखलाई संकल्प प्रस्ताव पेस गर्दै यसलाई पारित गर्दै संसदमा परेको गाँठो फुकाउनु पर्ने प्रस्ताव गरेका थिए । विपक्षीको लगातारको अवरोधपछि आजको बैठक पनि स्थगित भएको छ ।

१२- प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।  मंगलबार प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले प्रधानमन्त्रीको सीमा बारेको अभिव्यक्ति सच्याउन माग गर्दै अवरोध जारी राखेपछि सभामुख डिपी अर्यालले भोली सम्मका लागि बैठक स्थगित गरेका हुन् । बैठकमा एमालेका सांसद क्षितिज थेवेले प्रधानमन्त्रीले अभिव्यक्ति नसच्य्याएसम्म अवरोध जारी हुने जानकारी दिदै आर्थिक विधेयकमा भएको हेरफेरप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । त्यस्तै नेकपाका सांसद महेन्द्रबहादुर शाहीले विपक्षी दलहरुले गलत माग नराखेको स्पष्ट गर्दै गम्भीर विषय भएकाले प्रधानमन्त्रीले आफ्नो प्रतिक्रिया दिनैपर्ने बताएका छन् । सांसद शाहीले  बजेटका विषयमा अनेकौ विषय बाहिर आएको बताउदै करका दर चुहावट भएको विषयमा जनता र प्रतिपक्षी दलहरुले जवाफ खोजेको बताए । उनले सभामुखलाई पेलेर संसद नचलाउन सुझाव दिदै छलफल गरेर अगाडी बढ्न समेत सुझाव दिए । त्यस्तै आज काँग्रेसको आग्रहमा संसदमा विपाक्षी दलहरुले पाँच मिनेटसम्म मौन धारण समेत गरेका थिए । काँग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमा जोगाउन ज्यान दिने शहिदहरुको अपमान भएको भन्दै उनीहरुको सम्झनामा मौन धारण गर्न आग्रह गरेका थिए ।

१३- राप्रपाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ । राप्रपाकी सांसद खुस्बु ओलीले विद्युतीय गाडीका करका दर चुहावटको विषयको अनुसन्धान हुन्जेल पद छोडन आग्रह गरेकी हुन् । उनले अर्थमन्त्री वाग्लेले अघिल्लो संसदमा बोलेको प्रसंग उल्लेख गर्दै आफ्नो शब्दबाट पछि हटेको हो भन्ने प्रश्न गर्दै पदबाट हटेर छानबिनमा सहयोग गर्न आग्रह गरेकी छन् । ७७४ बीवाईडी विद्युतीय गाडी बजेट अघि नै भन्सार पास गरेर ल्याउदै गरेको अवस्थमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यो विषय बाहिर आएको थियो । यस प्रकरणमा सरकारले छानबिनका लागि समिति गठन गरेको छ भने भन्सार र मन्त्रालयका केहि कर्मचारीलाई कारवाही गरेको छ ।

१४- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विशेष सुविधा लिएर विद्युत उपभोग गरेका उद्योगहरूले तिर्न बाँकी रहेको प्रिमियम महसुल तत्काल कानूनबमोजिम असुल गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् । घिसिङले आम नागरिक दैनिक १८ घण्टासम्मको लोडसेडिङको मारमा परेका बेला विशेष सुविधा प्राप्त औद्योगिक ग्राहकहरूले उपभोग गरेको विद्युतको प्रिमियम महसुल भुक्तानी गर्नु कानूनी मात्र नभई नैतिक दायित्वसमेत भएको बताएका छन् । उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदा बक्यौता असुली प्रक्रिया अघि बढाउँदा तत्कालीन राजनीतिक नेतृत्वबाट हस्तक्षेप भएको र त्यसका कारण आफू कारबाहीमा परेको विषय सबैलाई जानकारी रहेको उल्लेख गरेका छन् । यद्यपि राज्यको हित र कानून कार्यान्वयनप्रतिको आफ्नो प्रतिबद्धता कहिल्यै कमजोर नभएको उनको भनाइ छ । घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेपछि डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता असुलीलाई गति दिने निर्णयलाई प्राथमिकतामा राखेको स्मरण गरेका छन् । उनका अनुसार नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिबाट निर्णय गराई व्यवस्थापनलाई कानूनअनुसार कडाइका साथ असुली प्रक्रिया अघि बढाउन निर्देशन दिइएको थियो । उनले त्यसको परिणामस्वरूप अधिकांश उद्योगहरूले पहिलो किस्ता बुझाएको भए पनि पछिल्ला चरणमा असुली प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको बताएका छन् । किस्ताबन्दीमार्फत भुक्तानी सुरु गरेका उद्योगहरूले समेत रकम तिर्न रोक्दा राज्यकोषमा आउनुपर्ने रकम दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । घिसिङले कानून सबैका लागि समान हुनुपर्ने भन्दै प्रभाव, पहुँच वा दबाबका आधारमा कसैले पनि आफ्नो दायित्वबाट छुट पाउन नहुने बताएका छन् । विगतमा राजनीतिक हस्तक्षेपका कारण विवादित बनेको विषयलाई अब थप बहानाबाजी गरेर अल्झाइराख्न नहुने उनको धारणा छ । उनले राज्यकोषमा आउनुपर्ने रकम असुल गर्नु सरकार र सम्बन्धित निकायको संवैधानिक तथा कानूनी दायित्व भएको उल्लेख गर्दै डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल बक्यौता तत्काल असुली प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । साथै सम्बन्धित उद्योगहरूलाई उपलब्ध किस्ताबन्दी सुविधाको उपयोग गर्दै आफ्नो दायित्व पूरा गर्न पनि उनले आह्वान गरेका छन् । घिसिङले जनताले अन्धकारको पीडा भोगेका बेला विशेष सुविधा लिएका उद्योगहरू आज आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै कानूनको शासन र राज्यको हितभन्दा माथि कोही पनि हुन नसक्ने बताएका छन् ।

१५-  नेपाल सरकारले फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै फिलिपिन्स सरकार र त्यहाँका नागरिकप्रति सहानुभूति व्यक्त गरेको छ । साथै अझै बेपत्ता रहेका व्यक्तिहरूको शीघ्र उद्धार तथा घाइतेहरूको चाँडो स्वास्थ्यलाभको कामना समेत गरेको छ । नेपाल सरकार र नेपाली जनता यस कठिन घडीमा फिलिपिन्स सरकार र जनताको साथमा रहेको तथा ऐक्यबद्धता व्यक्त गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

१६- सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले करका दरमा हेरफेर नभएको दाबी गरेका छन् । मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गर्दै प्रवक्ता पोखरेलले अर्थमन्त्रीको बचाउ गर्दै बजेट र करको दरमा हेरफेर नभएको दावी गरेका हुन् । उनले भने- ‘कुनै चलखेल भएको छैन, अर्थमन्त्रीले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’ ७७४ बीवाईडी विद्युतीय गाडी बजेट अघि नै भन्सार पास गरेर ल्याउदै गरेको अवस्थमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यो विषय बाहिर आएको थियो । यस प्रकरणमा सरकारले छानबिनका लागि समिति गठन गरेको छ भने भन्सार र मन्त्रालयका केहि कर्मचारीलाई कारवाही गरेको छ ।

१७- सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । यसअघिका तदर्थ समिति अध्यक्ष विनोदकुमार शर्माले राजीनामा दिएपछि रेडक्रसको नेतृत्व खाली थियो । त्यस्तै आजको बैठकले तल्लो अरुणसहितका जलविद्युत आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै पुर्व गृहमन्त्री सुदन गुरुङको विषयमा उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन समितिले दिएको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

१८-  कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति, मौज्दात र बिक्रीको विस्तृत विवरण सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ६ लाख मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने वार्षिक लक्ष्य राखेकोमा हालसम्म ४ लाख ९१ हजार ३ सय मेट्रिक टनको टेण्डर भइसकेको मन्त्रालयले जनाएको छ ।  यस कार्यक्रमका लागि कुल २८ अर्ब ८२ करोड १४ लाख बजेट विनियोजन गरिएको छ ।  मन्त्रालयको तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडमार्फत देशभर मलको वितरण र व्यवस्थापन भइरहेको छ ।  आर्थिक बर्ष २०८१/८२ को ४ लाख ६५ हजार मेट्रिक टन मल मौज्जात रहेकोमा हाल एक लाख ४० हजार ८४१ मेट्रिक टन मल मौज्जत रहेको मन्त्रालयले जानकारी दिएको छ ।  जस अनुसार ८० हजार ९०० मेट्रिक टन युरिया, ४० हजार ७६० मेट्रिक टन डिएपी र १९ हजार १८० पोटास हाल कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङमा मौज्जत रहेको छ ।  मन्त्रालयका अनुसार वाह्य मुलुकबाट नेपालतर्फ आउँदै गरेको मलको परिमाण ३ हजार ३३५ मेट्रिक टन रहेको छ । यसमा ४८८.६५ मेट्रिक टन युरिया र २ हजार ८४६.४ मेट्रिक टन डीएपी मल रहेको छ, जुन कृषि सामग्री कम्पनी लिमिटेडमार्फत आपूर्ति भइरहेको छ । कृषि मन्त्रालयले समयमै बजेट व्यवस्थापन र टेण्डर प्रक्रिया अघि बढाइएकाले विगतका वर्षहरूको तुलनामा यस वर्ष मलको आपूर्ति र वितरण प्रणाली निकै सुदृढ हुने दाबि गरेको छ ।

१९- नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै डिजिटल कर्जाको दायरा विस्तार गरेको छ । संशोधित व्यवस्थाअनुसार अब लघु, साना तथा मझौला व्यवसायीले पनि डिजिटल माध्यमबाट कर्जा प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको संशोधित मार्गदर्शनअनुसार डिजिटल कर्जालाई थप सहज, व्यवस्थित र व्यवसायमैत्री बनाउने उद्देश्य राखिएको छ । नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई डिजिटल कर्जा प्रवाहका क्रममा प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न पनि अनुमति दिएको छ । संशोधनपछि बैंक तथा वित्तीय संस्थाले ग्राहकको विद्युतीय कारोबार, भुक्तानीसम्बन्धी विवरण तथा व्यवसायिक सूचनाका आधारमा कर्जा विश्लेषण गर्न सक्नेछन् । यसका लागि प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न पाइने भए पनि त्यससँग सम्बन्धित जोखिम व्यवस्थापनको जिम्मेवारी भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै रहने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले डिजिटल कर्जाको सीमा पनि स्पष्ट रूपमा निर्धारण गरेको छ । बैंक तथा वित्तीय संस्थामा तलब, पेशागत वा व्यवसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिले अधिकतम ५ लाख रुपैयाँसम्म डिजिटल कर्जा लिन सक्नेछन् । अन्य प्राकृतिक व्यक्तिका लागि यस्तो सीमा २ लाख रुपैयाँ तोकिएको छ । दुवै प्रकारका कर्जाको भुक्तानी अवधि अधिकतम ३ वर्षसम्म हुनेछ । त्यस्तै, लघु, साना तथा मझौला व्यवसायीलाई अल्पकालीन चालु पुँजी कर्जाअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन सकिनेछ, जसको भुक्तानी अवधि १ वर्ष तोकिएको छ । यस्तै, दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाअन्तर्गत अधिकतम १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । यस्तो कर्जाको भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्जा नीतिअनुसार निर्धारण गर्नेछन् । संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध व्यापारीको सहमतिमा उनीहरूको व्यवसाय तथा कारोबारसम्बन्धी आवश्यक विवरण प्राप्त गरी कर्जा विश्लेषणका लागि उपयोग गर्न सक्नेछन् । यसबाहेक, बैंक तथा वित्तीय संस्थाले प्रविधि सेवा प्रदायक संस्थामार्फत ग्राहकको सहमतिमा व्यवसाय तथा कारोबारसम्बन्धी आवश्यक विवरण संकलन गर्न सक्नेछन् । तर त्यस्ता कर्जामा निहित सम्पूर्ण जोखिम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, विवरण प्राप्ति प्रक्रिया, गोपनीयता, आधिकारिकता तथा ग्राहकको सहमतिसम्बन्धी विषय समेटेर प्रविधि सेवा प्रदायकसँग सम्झौता गर्नुपर्ने र त्यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने प्रावधान पनि थपिएको छ । राष्ट्र बैंकले यो संशोधनमार्फत डिजिटल कर्जाको पहुँच विस्तार गर्दै विशेषगरी लघु, साना तथा मझौला व्यवसायीलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

२०- प्रविधि कम्पनी एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’लाई ठूलो स्तरमा रूपान्तरण गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता प्रणालीयुक्त ‘सिरी एआई’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ संस्करणले प्रयोगकर्तालाई अझ प्रभावकारी, व्यक्तिगत र संवादमुखी अनुभव प्रदान गर्नेछ । कम्पनीको वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलनमा यो घोषणा गरिएको हो । सम्मेलन एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको अन्तिम सम्मेलन पनि बनेको छ । उनी आगामी सेप्टेम्बरमा १५ वर्षे कार्यकालपछि पदबाट बाहिरिने भएका छन् । उनको स्थानमा जोन टर्नसले नेतृत्व सम्हाल्नेछन् । एप्पलले पछिल्लो समय कृत्रिम बुद्धिमत्ता प्रविधिमा प्रतिस्पर्धी कम्पनीहरूभन्दा पछि परेको आलोचना खेपिरहेको थियो । त्यसैबीच कम्पनीले सिरीको नयाँ संस्करण सार्वजनिक गर्दै आफ्नो रणनीतिक दिशा स्पष्ट गरेको छ । नयाँ सिरी एआईले एप्पलका विभिन्न उपकरण र एपबीच एकीकृत रूपमा काम गर्नेछ । साथै, कम्पनीले कृत्रिम बुद्धिमत्ता सहायकका लागि छुट्टै एप पनि ल्याउने घोषणा गरेको छ, जसले अन्य अग्रणी प्रविधि कम्पनीहरूले उपलब्ध गराउँदै आएका सेवासँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार सिरी एआईले प्रयोगकर्ताको अघिल्लो प्रयोग, तस्बिरहरूको बुझाइ, विश्वव्यापी जानकारी तथा व्यक्तिगत आवश्यकता समेटेर काम गर्नेछ । यसले हालको सिरीभन्दा धेरै सक्षम र स्वाभाविक संवाद गर्न सक्ने सहायकको भूमिका निर्वाह गर्ने दाबी गरिएको छ । हाल एप्पल इन्टेलिजेन्समार्फत लेखन सहयोग र तस्बिर सम्पादनजस्ता सुविधा उपलब्ध भए पनि सिरीको उन्नत संस्करण सार्वजनिक गर्न कम्पनीले अपेक्षाकृत लामो समय लगाएको थियो । प्रविधि विश्लेषक बेन वुडले एप्पलले कृत्रिम बुद्धिमत्तासम्बन्धी कमजोरीको जवाफ दिनैपर्ने अवस्था रहेको र सम्मेलनमार्फत केही उत्तर दिएको बताए । उनका अनुसार अब कम्पनीले गोपनीयतामा आधारित तथा एकीकृत प्रणालीले प्रयोगकर्ताको दैनिक अनुभव वास्तवमै सुधार्न सक्छ भन्ने प्रमाणित गर्नुपर्ने चुनौती छ । नयाँ सिरी एआईको परीक्षण संस्करण यसै वर्ष अंग्रेजी भाषामा चल्ने समर्थित उपकरणमा उपलब्ध गराइनेछ । यद्यपि युरोपेली सङ्घका देशहरूमा भने तत्काल उपलब्ध नहुने एप्पलले जनाएको छ । कम्पनीका अनुसार पछिल्ला केही महिनादेखि युरोपेली नियामक निकायहरूसँग छलफल भए पनि अन्य भर्चुअल सहायक सेवासँग सुरक्षित रूपमा सहअस्तित्व कायम गर्ने प्रस्ताव स्वीकार नभएकाले त्यहाँ सेवा विस्तार रोकिएको हो । यस वर्षको सुरुवातमा एप्पलले गुगलसँग सहकार्य गर्दै गुगलको जेमिनी मोडल र क्लाउड प्रविधिमा आधारित एप्पल फाउन्डेसन मोडल सार्वजनिक गरेको थियो । एप्पलले आफ्नो आगामी सञ्चालन प्रणाली ‘आईओएस २७’ अन्तर्गत बालबालिकाको सुरक्षासम्बन्धी नयाँ व्यवस्था पनि घोषणा गरेको छ । कम्पनीले ‘आस्क’ नामक सुविधा विस्तार गर्दै अभिभावकलाई आफ्ना बालबालिकाले कससँग कुरा गर्न पाउने वा नपाउने भन्ने नियन्त्रण दिने जनाएको छ । अब अपरिचित व्यक्तिसँग कुराकानी गर्नुअघि अभिभावकको स्वीकृति आवश्यक हुनेछ । त्यस्तै, बालबालिकाको उपकरणमा पठाइने तस्बिर कम्पनीको प्रणालीले यौनजन्य वा हिंसात्मक सामग्री भएको आशङ्का गरेमा स्वतः सेन्सर गरिनेछ । फेडेरिघीले अभिभावकलाई बालबालिकाले के हेर्ने, कससँग कुरा गर्ने र कहिले पहुँच पाउने भन्ने व्यवस्थापन गर्न शक्तिशाली तथा प्रयोग गर्न सजिलो उपकरण उपलब्ध गराइएको बताए । बालबालिका सुरक्षाका पक्षधर समूहहरूले भने एप्पलले पर्याप्त कदम नचालेको आरोप लगाउँदै आएका छन् । सम्मेलन सुरु हुनुअघि एप्पलको आगन्तुक केन्द्रबाहिर केही प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका थिए । ‘हिट इनिसिएटिभ’ नामक अभियान समूहकी सारा गार्डनरले एप्पलको एप स्टोरबाट सबै प्रकारका नग्न तस्बिर सिर्जना गर्ने प्रविधि हटाउन माग गर्दै विरोध जनाइन् । उनले कम्पनीको क्लाउड सेवाबाट बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री हटाउन पनि माग गरिन् ।

उनका अनुसार यस्ता कृत्रिम बुद्धिमत्तामा आधारित अश्लील तस्बिर बनाउने एपबाट कम्पनीले कम्तीमा १७ करोड ७० लाख अमेरिकी डलर आम्दानी गरेको छ । एप्पलले भने यस्ता एप आफ्ना नियमविपरीत रहेको र धेरै अनुप्रयोग पहिल्यै हटाइसकेको जनाएको छ । यस वर्षको सम्मेलन एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकका लागि विशेष रह्यो । एप्पलका सहसंस्थापक स्टिभ जब्स स्वास्थ्य समस्याका कारण पदबाट हटेपछि कुकले सन् २०११ मा नेतृत्व सम्हालेका थिए । १५ वर्ष नेतृत्व गरेका कुकलाई एप्पल पार्कमा उपस्थित हजारौँ कर्मचारी र विकासकर्ताले उभिएर सम्मान व्यक्त गरेका थिए । मञ्चमा उनले मजाक गर्दै ‘यति धेरै आईफोन मैले पहिले कहिल्यै देखेको थिइनँ’ भनेका थिए । बिदाइका क्रममा उनी भावुक पनि देखिए । उनले विश्वभरका मानिसहरूको जीवन सहज बनाउन विकासकर्ताहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै विगत १५ वर्षको यात्राका लागि आभार व्यक्त गरे । कुकले एप्पलको नेतृत्व गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्मान भएको बताए । उनका उत्तराधिकारी जोन टर्नस मुख्य प्रस्तुतीकरण कार्यक्रममा बोल्न भने आएनन् । तर उनी सञ्चारकर्मीसँगको कार्यक्रममा कुकको छेउमै अगाडि बसेका थिए ।  बजार अनुसन्धान संस्था आईडीसीका विश्लेषक फ्रान्सिस्को जेरोनिमोका अनुसार सन् २०२६ को विकासकर्ता सम्मेलनले जोन टर्नसलाई थप व्यक्तिगत उपकरण, सन्दर्भ बुझ्ने सफ्टवेयर, बुद्धिमान सेवा तथा चिप, हार्डवेयर र कृत्रिम बुद्धिमत्ताबीचको गहिरो एकीकरणतर्फ अघि बढ्ने स्पष्ट मार्ग प्रदान गरेको छ । विश्लेषकहरूको भनाइमा एप्पलले प्रयोगकर्ताले अपेक्षा गरेअनुसारको विश्वसनीय, आकर्षक र सुरक्षित अनुभव दिन सके सिरी एआई र एप्पल इन्टेलिजेन्स कम्पनीको भविष्यको केन्द्रबिन्दु बनेको क्षणका रूपमा यो सम्मेलन सम्झिनेछ ।