अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ११ बालबालिकासहित १३ को मृत्यु

काबुल, २७ जेठ । पाकिस्तानले मंगलबार राति अफगानिस्तानमा हवाई आक्रमण गरेको छ ।   तालिबानका अनुसार यी आक्रमणहरूमा १३ जनाको मृत्यु भएको छ  । मृत्यु हुनेमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुष रहेका छन् र अर्की एक महिला गम्भिर घाइते भएका छन्।

 

तालिबानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानले अफगान हवाई क्षेत्रको उल्लंघन गरेको बताएका छन । उनले आरोप लगाए कि पाकिस्तानी सेनाले कुनार, खोस्त र पक्तिका प्रान्तहरूमा नागरिक घरहरूलाई लक्षित गरी बमबारी गरेको छ। मुजाहिदले मृतक र घाइतेहरूको तस्बिर पनि साझा गरेका छन् ।

यद्यपि पाकिस्तानले यस कारबाहीको बारेमा आधिकारिक रूपमा कुनै जानकारी जारी गरेको छैन तर यो घटना यस्तो समयमा भएको हो, जब पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबीचको सम्बन्ध बिग्रँदै गएको छ। विगत केही महिनादेखि दुई देशबीचको सीमामा गोलीबारी आदान प्रदान भइरहेको छ।जुन ९ मा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको सीमा चौकीमा भएको आक्रमणमा ६ जना पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु भएको थियो। पाकिस्तानी अधिकारीहरूले आक्रमणमा ८ जना आतंककारी पनि मारिएको बताएका छन्। अधिकारीहरूले आक्रमणकारीहरूले सीमा चौकी कब्जा गर्ने प्रयास गरेको दाबी गरेका छन्।

पाकिस्तानले लामो समयदेखि आफ्नो सैन्य कारबाही आतंकवादी संगठनहरू विशेष गरी तहरिक ए तालिबान पाकिस्तानविरुद्ध रहेको बताउँदै आएको छ। पाकिस्तानले आरोप लगाउँछ कि ती लडाकुहरू अफगान भूमिबाट सञ्चालन हुन्छन् र पाकिस्तानमा आक्रमण गर्छन्।

काबुलको तालिबान सरकारले भने पाकिस्तान सरकारको यी आरोपहरूलाई अस्वीकार गर्दै भनिरहेको छ कि अफगानिस्तानले त्यस्तो कुनै पनि समूहलाई आश्रय दिँदैन। यसको विपरीत तालिबानले पाकिस्तानलाई अफगानिस्तानको सार्वभौमसत्ता उल्लङ्घन गरेको आरोप लगाउँछ।