
सञ्जय मिश्रा / रामपुर, भारत २७ जेठ।
भारतको उत्तर प्रदेशस्थित रामपुर जिल्लामा तेलंगाना राज्यबाट करिब १२ करोड भारतीय रुपैयाँ बराबरको सुन–चाँदी र नगद चोरी गरी भाग्दै गरेका तीन नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पति, उनकी पत्नी र सालि रहेको भारतीय प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ७ किलो सुन, १ किलो चाँदी र करिब २५ हजार भारतीय रुपैयाँ नगद बरामद गरिएको छ। यो घटना तेलंगानाको साइबराबाद कमिश्नरेट अन्तर्गत गाचीबाउली क्षेत्रको एक सम्पन्न परिवारको घरमा भएको हो। उक्त घरमा नेपालबाट आएका कमल, उनकी पत्नी विमला र सालि कल्पना कामदारका रूपमा बस्दै आएका थिए।

शुरुवातमा उनीहरूको व्यवहार सामान्य र विश्वासिलो देखिएकाले घरधनी परिवारले पूर्ण भरोसा गरेका थिए। तर समयसँगै उनीहरू घरको दैनिक गतिविधि, आवतजावत र सुरक्षा अवस्थाबारे गहिरो जानकारी लिँदै गए। घटनाको दिन घरधनी परिवार बाहिर गएको मौका पारेर ती तीन जनाले घरभित्र राखिएको ठूलो मात्रामा सुन–चाँदी र नगद चोरी गरेको आरोप छ। चोरी गरिएको सम्पत्तिको कुल मूल्य करिब १२ करोड रुपैयाँ बराबर रहेको बताइएको छ।

चोरीपछि तीनै जना फरार भएका थिए र नेपालतर्फ भाग्ने तयारीमा रहेको अवस्थामा उनीहरू भारत–नेपाल सीमातर्फ जाँदै गर्दा रामपुरमा पक्राउ परेका हुन्। रामपुर प्रहरीले चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि गरिएको खानतलासीमा चोरी गरिएको भनिएको सम्पूर्ण सामान फेला परेको प्रहरीले जनाएको छ। तेलंगाना र उत्तर प्रदेश प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको अपरेशनपछि उनीहरू पक्राउ परेका हुन्। तेलंगानाको गाचीबाउली क्षेत्रमा दर्ता भएको चोरी मुद्दाको आधारमा अनुसन्धान अघि बढाइएको थियो।
रामपुरका प्रहरी प्रमुख सोमेंद्र मीणाका अनुसार, अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी छ। साथै, उनीहरूको आपराधिक पृष्ठभूमिबारे जानकारी लिन नेपाल प्रहरीसँग पनि समन्वय गरिने भारतीय सञ्चय माध्यमहरूले उल्लेख गरेको छ। उनीहरूको थर र नेपालको ठेगाना भन्ने खुलाईएको छैन।





