
-अर्जुन काफ्ले
मोरङ, २७ जेठ । राजनीतिकर्मीहरू पदमा पुगेपछि भुइँतहको वास्तविकता भुल्छन् र विलासी जीवनशैली अपनाउँछन् भन्ने आम गुनासो बढिरहेका बेला, पूर्वोत्तर मोरङका एक परिचित कम्युनिष्ट नेताले भने श्रम र सादगीपनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।

इतिहासमा चार पटकसम्म जनप्रतिनिधि बनिसकेका र पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष कपिलमणि ढकाल, हिजोआज प्र–१–०२–००५ ह ५२१४ नम्बरको निलो रंगको सफारी (अटो) चलाउँदै गरेको अवस्थामा सडकमा भेटिन्छन्। नेकपा (एमाले) मोरङका जिल्ला कमिटी सदस्यसमेत रहेका ५९ वर्षीय ढकालको यो दैनिकीले यतिबेला स्थानीय स्तरमा धेरैको ध्यान तानेको छ। पञ्चायतकालको कठिन परिस्थितिदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिएका कीर्तिपुर निवासी ढकाल, राजकीयसत्ता र राजनीतिक जिम्मेवारीमा रहँदा पनि कहिल्यै सुकिलो मुकिलो र ठालूपनको पछि लागेनन्। जीवनको उत्तरार्धको आरम्भमा पनि उनी डटेर श्रममा लागेका छन्। बजारमा कम्युनिष्ट चरित्र र नैतिकताको खडेरी परिरहेका बेला ढकालको यो कदमलाई स्थानीयले ‘असल कम्युनिष्ट पात्र’ को जीवित दृष्टान्तका रूपमा लिएका छन्।

ढकालका अनुसार यो सफारी चलाउनु केवल आर्थिक उपार्जनको माध्यम मात्र होइन, बरु जनतासँग प्रत्यक्ष जोडिने र समाजको यथार्थ बुझ्ने महत्त्वपूर्ण औजार पनि हो। “छोराका लागि किनेको यो गाडी घरिघरि आफैं लिएर हिँड्छु। मेरो सम्बन्ध र सम्पर्क अलिक फराकिलो भएकोले साथीभाइहरू आई हाल्नुहुन्छ, यसबाट थप सम्पर्क र सम्बन्ध बिस्तार हुन्छ,’ ढकाल भन्छन्, ‘बसिबियाँलो पनि भयो, दौँतरीसँग भेट हुँदा सबैखाले कुराकानी हुन्छन्। यसबाट पनि राजनीति भइरहेको छ,’ उनले भने ।

सफारीको स्टेरिङ सम्हाल्दै गर्दा उनी राष्ट्रिय राजनीतिको बिग्रँदो परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्छन्। राजनीतिले उल्टो बाटो लिएको र यसलाई एकताबद्ध भएर सुल्टाउन जरुरी रहेको उनको बुझाइ छ। ‘असल अभिव्यक्ति, सकारात्मक सोच र चरित्र विकासको पक्ष समाजमा खड्कँदो छ,’ ढकाल भन्छन्, ‘सादगी र इमानदार मानिसको अभावपूर्ति गर्न सके मात्र समाज बन्छ।’

जातीय, लैंगिक वा वर्गीय भेदभावविरुद्ध स्पष्ट अडान राख्दै आएका उनी पछिल्लो समय समानता र न्याय सम्पादनको पक्ष ओझेल परेको महसुस गर्छन्। नेतृत्व क्षमतामा आएको ह्रास र जनतालाई प्रेरित गर्ने आधारहरू कमजोर बन्दै गएको उनको निष्कर्ष छ।
‘म त ह्याट्रिक कार्यकाल काम गरेको जनप्रतिनिधि हुँ’ भन्ने जस्ता कुनै पनि प्रकारको पदीय अहङ्कार नराखी निरन्तर श्रममा जोडिएका कपिलमणिको यो जीवनशैली आम राजनीतिकर्मी, कार्यकर्ता र समाजका लागि श्रमको सम्मान गर्न सिकाउने एउटा अनुकरणीय पाठ बनेको छ।





