
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिनादेखि हर्मोज जलसन्धि भएर आवतजावत गर्ने २०० भन्दा बढी व्यापारिक जहाजहरूलाई अमेरिकी सेनाले गोप्य रूपमा सुरक्षा सहयोग प्रदान गरेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको यस प्रयासका कारण १० करोड ब्यारेल भन्दा बढी कच्चा तेल खुला बजारसम्म पुग्न सफल भएको उल्लेख गर्नुभयो ।
उहाँले उक्त रणनीतिक जलमार्गमा इरानको नभई अमेरिकाको पूर्ण नियन्त्रण रहेको जिकिर समेत गर्नुभयो ।

इरानको सैन्य सामथ्र्य पराजित भएको र अर्थतन्त्र ध्वस्त भएको दाबी गर्दै ट्रम्पले भन्नुभयो, ‘इरानका लागि अब सबै समाप्त भइसकेको छ ।’ इरानसँगको वार्ता प्रक्रिया अवरुद्ध भएको र पछिल्ला दिनहरूमा इरानले अमेरिका तथा इस्रायलसँग प्रत्यक्ष सैन्य मुठभेड गरिरहेको सन्दर्भमा ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो ।
गत सोमवार अमेरिकी सेनाको हेलिकप्टर खसालिएपछि ट्रम्पले इरानमाथि निरन्तर सैन्य प्रहार गर्न आदेश दिएका थिए । सो क्षेत्रमा तनाव चरम अवस्थामा पुगेका बेला राष्ट्रपति ट्रम्पको यो पछिल्लो भनाइ सार्वजनिक भएको हो ।





