
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि एउटा ठूलो सम्झौता भएको र आगामी केही दिनभित्र यसमा हस्ताक्षर हुने अपेक्षा गरिएको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यसै साताको अन्त्यतिर युरोपमा आयोजना हुने हस्ताक्षर समारोहमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स सहभागी हुने जानकारी दिए।
ट्रम्पले भने, “हामीले भर्खरै इरानसँगको युद्धको ठूलो समाधान निकालेका छौँ। कागजातहरूलाई अन्तिम रूप दिन मात्र बाँकी छ, जुन आगामी केही दिनभित्रै सम्पन्न हुनेछ।

सम्भवतः युरोपमा यसको हस्ताक्षर समारोह हुनेछ। म आफैँ त्यहाँ उपस्थित हुन नसके पनि उपराष्ट्रपति जेडी भान्स त्यहाँ सहभागी हुनुहुनेछ ।” उहाँले दस्ताबेजहरू अन्तिम स्वरूपमा रहेको र यो सम्झौता निकै चाँडो पूरा हुने बताउनु भयो । इरानका सर्वोच्च नेता मोज्ताबा खामेनी यस सम्झौतामा सहमत भएका हुन् भनी सोधिएको प्रश्नमा ट्रम्पले जवाफ दिए, “मेरो बुझाइमा यसको जवाफ हो भन्ने नै हो यो एउटा निकै बलियो समझदारी पत्र हो, जुन अहिलेका लागि अलि सैद्धान्तिक जस्तो देखिए पनि चाँडै नै कार्यान्वयनमा आउनेछ ।”
यद्यपि, फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध शुरु गरेको युद्ध अन्त्य गर्ने सम्झौताका शर्तहरूमा आफू सहमत भएको हो वा होइन भन्नेबारे तेहरानले अहिलेसम्म कुनै आधिकारिक पुष्टि गरेको छैन । यसअघि बिहीबार नै ट्रम्पले लगातार तेस्रो दिन पनि इरानमाथि सैन्य प्रहार गर्ने चेतावनी दिएका थिए । तर त्यसको केही घण्टापछि नै उनले उक्त योजना रद्ध गरेको घोषणा गर्नुभयो ।





