अर्थमन्त्रीले संसद र सांसदको मानहानी गर्नुभयो, छानविनका लागि संसदीय समिति गठन गरियोस्ः वर्षमान पुन

प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदको अवमूल्यन गरेको भन्दै छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्नुभएको छ । 
अर्थमन्त्री वाग्ले आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सिंगो संसदको अवमूल्यन हुनेगरी सांसदहरुलाई धम्क्याउने काम गरिएकोमा आपत्ति जनाउँदै उहाँले त्यसबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्नुभएको हो ।

उहाँले अर्थमन्त्री वाग्लेले करको दर हेरफेर गर्ने अपराध आफूले गरेको हुँ भनेर संसदको मानहानी गरेको आरोप पनि लगाउनु भयो । नेता पुनले पुरानो र नयाँ भनेर विषयान्तर गरेर अर्थमन्त्रीले गरेको अपरोध लुकाउने काम गर्न नपाईने बताउनु भयो । उहाँले करको दर हेरफेर अघिल्लो वर्ष पनि भएको भन्ने अर्थमन्त्री वाग्लेको भनाई उल्लेख गर्दै विगत र वर्तमान सबैको पालामा भएको उक्त विषयमा छानविन गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीजीलाई हामीले शंकाको लाभ दिएका थियौ । संसदमा पनि शुन्य समय र विशेष समयमा विभिन्न कुराहरु उठेका थिए । र हिजो मात्रै सार्वजनिक लेखा समिति र हिजोकै आर्थिक विधेयकमाथिको छलफलमा अर्थमन्त्रीले जसरी छलफल दिनु भयो । त्यसमा सार्वभौम जनप्रतिनिधिमूलक संसदको अवमूल्यन भएको छ ।

समितिको अवमूल्यन भएको छ । धाकधम्की प्रयोग गर्ने, धम्क्याउने कोशिस भएको छ । यसमा गम्भिर आपत्ति छ सभामुख महोदय । कार्यपालिका त्यसका सदस्यहरु संसदप्रति जवाफदेही हुनुपर्छ । संसदीय समितिहरुप्रति जवाफदेही हुनुपर्दछ । सबै सांसदहरुले उठाएका विषयहरु आरोप हुँदैनन् । कति जिज्ञासा हुन्छन, कति प्रश्न हुन्छन, कति स्पष्टिकरणका कुरा हुन्छन । तर त्यो कुराबाट कोही पनि जवाफ दिनबाट पन्छिन मिल्दैन, अरु पुराना तपसिलका कुरा गरेर । अर्थमन्त्रीजीले ७ वटा करका दरहरु हेरफेर गरेँ भनेर खुलमखुला स्विकार्नु भयो । यो आर्थिक अपराध हो । हामीले अपराध गर्नु भयो भनेका थिएनौ । जिज्ञासा राखेका थियौँ । तर उहाँले धम्की दिँदै यो मैले गरेकै हुँ, के गर्छौ ? भन्नुभयो । यो संसदको मानहानी भयो । सम्माननीय सभामुख महोदयले यसमा यसमा छानविन गरिनुपर्दछ । यस प्रकारको अपराध गर्न पाइँदैन सभामुख महोदय । खुलमखुल्ला उहाँले स्विकार गर्नु भयो यो रोष्टमबाट रेकर्ड छ । म त्यसको लागि के पनि भन्न चाहन्छु भने–पुरानाले गरेँ, पोहोरसाल ७३ वटा हेरफेर गरेँ, मैले अहिले जम्मा ७ वटा गरेँ भन्नुभयो । ७३ होस वा एउटा होस । अपराध भनेको अपराध हो सभामुख महोदय । म पनि पुरानो हो । २ वर्ष अगाडि मैले नै बजेट ल्याएको थिए । म आजको मात्रै भन्दैछैन सभामुख महोदय, पुरानो छानविन होस्, २ वर्ष अगाडिको मेरो पनि छानविन होस् ।

गत वर्षको पनि होस् । यस वर्षको पनि छानविन होस् । म त्यसको लागि तयार छु । र त्यसका लागि अर्को कुरा पनि भन्न चाहन्छु सभामुख महोदय । पु्राना कोही सांसद होइन, सबै नयाँ यस पटक मात्रै आउनु भएका माननीयजीहरुलाई राखेर छानविन गरौ, संसदको मर्यादा कायम गरौँ । पुरानो र नयाँ भनेर विषयान्तर गर्न पाइँदैन । त्यसो हुनाले मैले सभामुख महोदयबाट रुलिङको अपेक्षा गरेको छु । र म आफनौ सहित विपक्ष दलहरुको तर्फबाट यो माग राख्न चाहन्छु कि एउटा संसदीय छानविन समिति गठन होस् । कहाँनिर ग्रे एरिया छन्, कहाँनिर चुहावट छन, कहाँनिर के भए ? हामी सबैलाई थाहा छ नि सभामुख महोदय । २० लाख भन्दा मुखि कुन गाडी, कुन कम्पनी कुन ब्राण्ड सबैलाई थाहा छ । मैले गरेकै हुँ भन्नुभयो, त्यो पाइँदैन । विधेयकको प्रोसेस हुन्छ । मन्त्रालयहरुले विधेयक तयार गर्छ । सबै विधेयक क्याविनेटले पास गर्छ । त्यसपछि मन्त्रीले हेर्न, फेर्न, अझ कर्मचारीले १२ पेज मिलाउन त पाउँदै पाउँदैन । यसले संसदको सर्वोच्चता, संसदको मानहानी भएको छ । ठिक छ केही सानातिना कुराहरु प्राविधिक रुपले असंगत रहेछन भने त्यस्ता कुरा विगतमा पनि छन । त्यसबारे पनि के गर्ने छानविन होस् ।

प्रतिवेदन आओस । दिवंगत तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको समयमा बजेट लिक भयो भनेर पढ्नु अगाडि नै सार्वजनिक मिडियामा आईसकेपछि छानविन समिति बन्यो । छानविन समितिले डिटेल प्रतिवेदन दिएपछि त्यसैको आधारमा बजेट बन्ने गरेको छ ।’

नेता पुनले अर्थमन्त्री वाग्लेले नयाँ र पुराना भनेर आफ्नो अपराध लुकाउन नहुने बताउनु भयो ।