
काठमाडौं, ३० जेठ । विश्वकप २०२६ को आयोजक संयुक्त राज्य अमेरिकाले फराकिलो जीत हासिल गरेको छ । उत्तरी अमेरिकी देश संयुक्त राज्य अमेरिकाले दक्षिण अमेरिकी टोली पाराग्वेलाई ४–१ को फराकिलो जीत हासिल गरेको हो । घरेलु टोली अमेरिकाले पहिलो हाफमा ३ गोल गर्दा अर्को एक गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो। अमेरिकाका स्टार फर्वाड फोलारिन बालोगुनले दुइ गोल गरेका थिए।
अमेरिकाले पाराग्वेका डेमियन बोबाडिल्लाको आत्मघाती गोलमार्फत खेलमा सुरुवाती अग्रता लिएको थियो, त्यसपछि खेलको ३१ औ मिनेटमा फरवार्ड फोलारिन बालोगुनको गोलमा अग्रता दोब्बर बनायो। पहिलो हाफमै ३–० को अग्रता बनाउन इन्जुरी समयमा बालोगुनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए ।


दोस्रो हाफमा पाराग्वेले केही सुधारिएको खेल खेल्ने प्रयास गरे पनि अन्ततः ७३औँ मिनेटमा एक गोल फर्कायो तर इन्जुरी समयको अन्तिम मिनेटमा जियो रेयनाले टिमका लागि चौंथो गोल गरेर ४–१ को जीत हासिल गर्न सफल भयो ।

योसँगै विश्वकप २०२६ को आयोजक देशहरू सबैले पहिलो खेलमा कसैले पनि पराजय भोगेनन् । मेक्सिकोले अफ्रिकालाई २–० ले पराजित गर्दा क्यानडा भने बोस्निया एन्ड हर्जगोभिनासँग १–१ को बराबरी खेल खेलेको थियो भने तेस्रो आयोजक अमेरिकाले पराग्वेसँग ४–१ को फराकिलो जीत हासिल गरेर आयोजक टिम बलियो रहेको देखिएको छ ।




