विश्वकप २०२६ः दमासकसमा फुटबल महोत्सवको रौनक, द्वन्द्वपछिको सिरियामा खुशीको सञ्चार

सिरियाको राजधानी दमासकसमा विश्वकप २०२६ को अवसर पारेर विश्वकप महोत्सव शुरु भएको छ । वर्षौंदेखिको द्वन्द्वबाट तङ्ग्रिँदै गरेको यस मुलुकका नागरिकहरूका लागि यो महोत्सव उत्साह, एकता र राहतको माध्यम बनेको छ । राजधानीको पुरानो दमासकस प्रदर्शनी स्थललाई सार्वजनिक फ्यान जोनमा परिणत गरी आयोजना गरिएको यस महोत्सवमा ठूला डिजिटल पर्दाहरूमा फुटबल खेलको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

फुटबल खेलका अतिरिक्त महोत्सवमा विभिन्न उमेर समूहका दर्शकहरूलाई लक्षित गरी खाद्य स्टलहरू, खेलकुदसँग सम्बन्धित गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन् । यो महोत्सव जुन ११ देखि जुलाई १९ सम्म विश्वकपको समानान्तर रूपमा सञ्चालन हुने आयोजकले जनाएका छन् ।

दैनिक जीवनका दबाब र युद्धपछिको पुनरुत्थानको कठिन प्रक्रियामा रहेका सिरियालीहरूका लागि यस कार्यक्रमले विशेष महत्व राखेको छ । महोत्सवमा सहभागी स्थानीय अनस सोमिएले यस्तो वातावरण सिरियाका लागि नयाँ र सुखद् रहेको बताए ।

विश्वकपको यो रौनकले सिरियालीहरूलाई एकै स्थानमा भेला भई आपसी भ्रातृत्व र खुशी साटासाट गर्ने अवसर प्रदान गरेको छ ।

 

अन्य समाचारहरु