जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी

जलवायु परिवर्तनका कारण मानव जीवन, जीविकोपार्जन र समग्र पर्यावरणीय सन्तुलनमा गम्भीर चुनौती खडा भएकोे छ । पछिल्ला अध्ययनहरुले जलवायु परिवर्तनले प्रकृति र जीवजन्तुमा मात्रै नभई प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पु¥याएको देखाएका छन् । प्रजनन तथा आईभीएफ विशेषज्ञ डा. रश्मी श्रीशले पछिल्लो समय विश्वभर निःसन्तानपनको दर बढ्दै गएको र यसको पछाडि जलवायु परिवर्तन तथा वातावरणीय असन्तुलन प्रमुख कारणका रूपमा देखा पर्न थालेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै डा. श्रीशले प्रजनन स्वास्थ्यसम्बन्धी समस्यामध्ये करिव २० प्रतिशतमा जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव रहने गरेको अध्ययनले देखाएको बताउनु भयो । चीनमा गरिएको पछिल्लो अध्ययनले निःसन्तानपनको समस्यामा २० प्रतिशत जलवायु परिर्वतनको भुमिका रहेको देखाएको उहाँले बताउनु भयो ।

जलवायु परिवर्तनले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा बराबर असर पार्ने गरेको पनि अध्ययले देखाएको छ । डा. श्रीशले जलवायु परिवर्तनका कारण मौसमा आएको परिर्वतनले मानिसमा बढ्ने तनाव, थकान र जीवनशैलीमा आउने परिवर्तनले यौन स्वास्थ्य र प्रजनन क्षमतामा असर पारिरहेको बताउनु भयो । जलवायुजन्य विपद्को समयमा प्रभावितले समयमै स्वास्थ्य उपचार गराउन नपाउने व्यवहारिक कठिनाईका कारण समेत प्रजनन स्वास्थ्यमा गम्भीर समस्या देखिने गरेको उहाँको भनाइ छ । डा. श्रीशकाअनुसार वातावरणीय असन्तुलनको कारण बढ्दो तापक्रम, वायु प्रदुषण, रासायनिक पदार्थको प्रभाव तथा प्लास्टिकजन्य सामग्रीको प्रयोगले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ ।

महिलामा महिनावारीमा अनियमितता र छिटो मेनोपज हुने समस्या देखिने गरेको तथा पुरुषमा शुक्राणुको गुणस्तर र संख्यामा कमी तथा डीएनए क्षति हुनसक्ने जोखिम बढाएको बताउनु भयो । विश्व तथ्यांकअनुसार, प्रत्येक ६ दम्पतीमध्ये १ दम्पती निःसन्तानपनको समस्याबाट प्रभावित हुने गरेका छन् । नेपालमा यसबारे अध्ययन नभएपनि सोही अनुपातमा समस्या रहेको डा. श्रीशले बताउनु भयो । डा. श्रीशले निःसन्तानको समस्याले दीर्घकालिन रुपमा सिंगो देश र विश्वलाई नै प्रभाव पार्ने भएकाले व्यक्तिको स्वास्थ्य समस्याको रुपमा नभई पब्लिक हेल्थको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, उहाँले भन्नुभयो, ‘निःसन्तानपनलाई खाली व्यक्तिको समस्या नभएर पब्लिक हेल्थको इस्यूको रुपमा लिनुपर्ने देखिइरहेको छ, लिनुपर्छ । निःसन्तानपनलाई पब्लिक हेल्थमा राख्नुपर्ने विषयमा अहिले संसारभरी बहस पनि भइरहेको छ । किनकी यसको प्रिभेलेन्स इन्सिडेन्स बढेर गइरहेको छ । अर्को, कुरा पर्यावरणीय परिवर्तन र जलवायु परिवर्तनको कारणले पनि धेरै प्रभाव परिरहेको छ । यसले महिला र पुरुषका साथै सबै उमेर समूहका नागरिकलाई समस्या गर्छ । भर्खरै यो विषयमा चाइनामा रिसर्च भएको छ । त्यो अध्ययनले प्रजनन स्वास्थ्य र निःसन्तानपनका जतिपनि केसहरु छन् त्यसमध्ये  २० प्रतिशत मान्छेहरुमा जलवायु परिवर्तनको प्रभाव पारेको देखाएको छ । यसको विषयमा नेपालमा भने अहिलेसम्म अध्ययन भएको छैन । विश्वव्यापी रुपमा यस विषयमा अध्ययन अनुसन्धानहरु भइरहेका छन् । युरोपमा निःसन्तानसम्बन्धी एउटा ठूलो कन्फरेन्स हुन्छ त्यसमा ठूलो बहस पनि थियो । उक्त बहसमा पर्यावरणीय अवस्था जलवायु परिपवर्तको कारण निःसन्तानपनका घटनाहरु बढिरहेको छ । यसको समाधानका लागि के गर्ने, के नगर्ने भन्ने विषयमा हरेक वर्ष त्यहाँ बहस हुने गरेको छ । त्यसमा जलवायु परिवर्तनले मुख्य प्रभाव पारेको नै देखाइरहेको छ । जलवायु परिवर्तनले प्रजनन स्वास्थ्यमा कसरी प्रभाव पारिहरेको छ भन्दा पहिलो कुरा त मान्छेको व्यवहारमा भइरहेको छ । अर्को कुरा शारीरिक रुपमा पनि प्रभाव पारिहरको छ । व्यवहारिक प्रभावमा जलवायु परिवर्तनको कारण तापक्रममा वृद्धि हुँदा आलस्य हुने, अल्छी लाग्ने, तनाव धेरै हुने हुन्छ । यसले शरिरमा आवश्यक हर्मोनहरु र मान्छेको इच्छाशक्ति पनि कमजोर हुँदै जाने हुन्छ । बच्चाको लागि नियमित रुपमा सेक्सुअल इन्टरकोर्स गर्नु नै भन्छन् । मान्छेमा यौन इच्छाशक्ति घटेर जाँदा पनि निःसन्तापन समस्या देखिने गरेको छ । अर्को कुरा, जलवायु परिवर्तनको कारणले बाढीपहिरो आउला, हिट वेभहरु होला । विपद्को समयमा आवश्यक स्वास्थ्य उपचारमा ढिलाई ढिलाई हुने गर्दछ  । निःसन्तानपन बढ्नुको यो चाहीँ जलवायु परिवर्तनको व्यवहारिक असरहरु भए । त्यसैगरी शारीरिक रुपमा बढ्दो तापक्रम, केमिकलहरु, वायु प्रदुषण एअर क्वालिटीभन्दा माथि पुग्दा, खानेकुरामा, प्लापस्टिकका बोतलहरुको प्रयोगको कारणले समेत पुरुष र महिला दुवै जनाको प्रजनन स्वास्थ्यमा असर पुर्याइरहेको हुन्छ । यसले गर्दा महिलाहरुमा चाँडो मेनोपज हुने तथा अनियमित महिनावारी हुने समस्याहरु देखिन्छन् । जसले गर्दा निश्चय पनि प्रजनन् स्वास्थ्यमा असर पु¥याउँँछ नै । पुरुषहरुमा पनि समेत प्रजनन कोषहरु घट्दै जाने, डिएनएमा असर गर्ने गरेको कारण पुरुषहरुमा समेत निःसन्तानको समस्या हुनसक्छ । अहिले युरोप, अमेरिकाका साथै विश्वका विभिन्न क्षेत्रमा भइरहेका अनुसन्धानले देखाएको मुख्य कारण भनेको पर्यावरणीय असन्तुलन (जलवायु परिवर्तन) नै हो । इन्भाइरोमेन्टल फ्याक्टर भनेको वायु प्रदुषण पनि भइहाल्यो, जीवनशैली, दैनिक प्रयोग गर्ने समानको कारण नै हो । अर्को कुरा कारण नै थाहा नभईकन मान्छेमा निःसन्तानपन देखिने, भएपनि बारम्बार गर्व खेर जाने समस्याहरु पनि देखिइरहेको छ । विश्वव्यापी रुपमा नै निः सन्तापनको समस्या बढ्दै गइरहेको छ । नेपालको सन्दर्भमा पनि बढी नै रहेको छ । हरेक ६ जनामा १ जना निःसन्तानपनले ग्रसित हुनुहुन्छ । यो विश्वव्यापी अनुपात हो । नेपालमा पनि लगभग त्यही अनुपातमा यो समस्या देखिन थालेको छ ।’

जलवायु परिजवर्तनले महिला र पुरुषको प्रजनन स्वास्थ्यमा कस्तो असर पार्छ ?
डा. श्रीशले निःसन्तानको समस्या महिला र पुरुष दुवैमा बराबर हुने बताउनुहुन्छ । नेपाली समाजमा कुनै दम्पतीमा निःसन्तापन देखिएमा महिलालाई मात्र दोष दिने प्रवृत्ति रहेको भएपनि समस्या पुरुषमा पनि समान रहेको बताउनु भयो । महिलाहरूमा वातावरणीय जोखिमको कारण  अण्डाणुको गुणस्तर कमजोर हुँदै जाने तथा प्रजनन क्षमतामा समेत ह्रास आउने गर्दछ । उहाँले वायु प्रदुषण र प्लास्टिकजन्य वस्तुको अधिकतम प्रयोगको कारण समेत दम्पतीहरूमा उपचारको नतिजामा प्रभाव पर्ने गरेको देखिएको बताउनु भयो । जलवायुजन्य प्रभावका कारण बदलिएको मौसमी चक्र, प्रदुषण, तापक्रम लगायतले शुक्रकीटको संख्या घटाउने तथा शुक्रकीटको गतिशीलतामा कमी ल्याउने समस्या देखिएको डा. श्रीशले बताउनु भयो । उहाँले विश्वभर पुरुषहरूमा शुक्रकीटको संख्या क्रमशः घटिरहेको र यसो हुनुको मुख्य कारणका रुपमा जलवायु परिवर्तनलाई हेरिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा निःसन्तापन महिलाको कारण मात्र हुन्छ भन्ने भाष्य बनाएर ट्याग लगाइदिने भएर मात्र हो । तर विश्वव्यापी अनुसन्धान र अध्ययनले भने  निःसन्तानपन हुनुमा महिला र पुरुष दुवैमा उत्तिकै समस्या भएको कारण हुने गरेको छ । अहिले महिला र पुरुषको कारणले भन्दा पनि अज्ञात कारणले पनि निःसन्तानपनको समस्या बढिरहेको हुन्छ । हाम्रो समाजमा निःसन्तापन महिलाको कारण मात्र हुन्छ भन्ने भाष्य बनाएर ट्याग लगाइदिने भएर मात्र हो । तर विश्वव्यापी अनुसन्धान र अध्ययनले भने  निःसन्तानपन हुनुमा महिला र पुरुष दुवैमा उत्तिकै समस्या भएको कारण हुने गरेको छ । अहिले महिला र पुरुषको कारणले भन्दा पनि अज्ञात कारणले पनि निःसन्तानपनको समस्या बढिरहेको हुन्छ ।’
‘जलवायु परिवर्तन र प्रजनन् स्वास्थ्यको विषयमा एकीकृत अध्ययन आवश्यक’
डा. श्रीशले निःसन्तानपनको समस्यालाई व्यक्तिको समस्याको रुपमा मात्र सार्वजनिक स्वास्थ्यको रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो । त्यसैले नेपाल सरकारले पनि पर्यावरणीय असन्तुलन र प्रजनन स्वास्थ्य बारे एकीकृत अध्ययन गर्न आवश्यक रहेको तर्क डा. श्रीशले गर्नुभयो । उहाँले सरकारले जलवायु परिवर्तनका कारण प्रजनन स्वास्थ्यमा परेको असर बारे अध्ययन गरी सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा आवश्यक नीति निर्माण गर्नुपर्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको विषयलाई केबल वातावरण संरक्षण, सरसफाई र वृक्षारोपण गर्ने मात्रै नभई त्यसले प्रजनन स्वास्थ्यमा पार्ने असरका विषयलाई पनि एकीकृत रुपमा हेर्नुपर्ने देखिएको छ । किनभने महिला स्वस्थ भयो र प्रजनन क्षमता बलियो भने बच्चा स्वस्थ हुन्छ । स्वस्थ बच्चा जन्मेपछि हाम्रो भविष्य पनि राम्रो हुन्छ । हाम्रा हरेक क्रियाकलाप जलवायु परिवर्तनसँग सम्बन्धित छ र यसले कहीँ न कहीँ हाम्रो प्रजनन स्वास्थ्यमा असर गरिरहेको छ । स्वस्थ आमा, स्वस्थ बच्चा र स्वस्थ भविष्यमा हामी सबैले ध्यान दिन जरुरी रहेको छ । किनभने आमा स्वस्थ भयो भने मात्रै बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने मात्रै हाम्रो भविष्य पनि स्वस्थ हुन्छ । त्यसैले जलवायु परिवर्तनको कारण प्रजनन स्वास्थ्यमा देखिने समस्याको बारेमा सरकार र सम्बन्धित निकाय मिलेर अध्ययन–अनुसन्धान गर्न जरुरी छ ।’

उहाँले जलवायु परिवर्तनको असर मानिसको प्रजनन स्वास्थ्यमा पर्न नदिन पर्यावरणमैत्री जीवनशैलीको अभियानको थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।