
काठमाडौँ । भारतको असम राज्यको जोरहाटमा भएको भारतीय वायु सेनाको एएन–३२ विमान दुर्घटनामा पाँच जना सैनिकको मृत्यु भएको छ । भारतीय वायु सेनाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूको बलिदानलाई सम्मान गरेको छ ।
वायु सेनाका अनुसार स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमले ड्युटीको क्रममा ज्यान गुमाएका हुन् ।


शनिबार जोरहाट एयरफोर्स स्टेशनमा अवतरण गर्ने क्रममा एएन–३२ मालवाहक विमान अचानक आगोको चपेटामा परेको थियो । अवतरणलगत्तै विमानमा आगो लागेपछि एयरबेसमा भागदौड मच्चिएको थियो ।

प्रारम्भिक जानकारी अनुसार विमान रनवेमा अवतरण गरेपछि अचानक आगो लागेर ठूलो धुवाँ निस्किएको थियो । त्यसपछि तत्कालै दमकल र उद्धार टोली घटनास्थलमा पुगेका थिए र आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
भारतीय वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन ‘जाँच समिति’ गठन गर्ने निर्णय गरेको छ । वायु सेनाका अनुसार घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ ।





