
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दाबी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो । संयोजक प्रसाईले राजसंस्था फर्काउन र गद्धीमा राख्नका लागि धवलशमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएको पनि स्पष्ट पार्नुभयो ।
उहाँले आफूहरुले हिन्दु अधिराष्ट्र कायम गर्ने संकल्प पनि लिएको बताउनु भयो । सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति नपाउने संयोजक प्रसाईको भनाई थियो ।


उहाँले भन्नुभयो,‘यहाँ मिल्ने, विग्रने कुरै छैन । विग्रिने के का लागि ? मिल्ने के का लागि ? पहिला उद्देश्य हुनु प¥यो नि । उद्देश्य हामी २ जनाको एउटै छ–नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन् । यही होइन हाम्रो उद्देश्य ? जुन दिन राजा गद्धिमा बस्नु हुन्छ, राजसंस्था फर्किन्छ र , राजा गद्धीमा बस्छन नि । त्यो दिन दाजु र भाई पहिलो लुगा लगाएर जाउँला नि खप्तड । के विग्रेको छ यहाँ ? कस्ता, कस्ता योगी महात्माहरु खप्तड बसेका हुन् नि त ।’

संयोजक प्रसाईंले नेता राणा र आफूबीच लक्ष्यसहितको सहकार्य भएकाले बीचमा फाटो आउन अवस्था नरहेको पनि बताउनु भयो ।




