कुटनीतिक पहल गरेर चिया निकासी खुलाउन सरकारसँग सुहाङ नेम्वाङको माग

काठमाडौं । नेकपा एमालेका युवा नेता तथा इलाम–२ का सांसद सुहाङ नेम्वाङले भारतीय बजारमा नेपाली चियाको बिक्री र वितरणमा देखिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनका अनुसार इलामको सूर्योदय क्षेत्रका ५३ वटा चिया उद्योगले उत्पादन बिक्री गर्न नसक्दा गोदाम भरिएको छ र किसानलाई हरियो पत्तीको भुक्तानी गर्न समेत कठिन भएको छ । यही अवस्थाका कारण असार १ गतेदेखि उद्योग बन्द गर्ने निर्णय भएको उनले उल्लेख गरेका छन् ।

सूर्योदय नगरपालिकामा मात्रै करिब २ हजार ९९५ किसान चिया खेतीमा संलग्न छन् भने वार्षिक करिब २ करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ। उद्योगीका अनुसार करिब ३ लाख किलो चिया भारतीय गोदाममा रोकिएको र ७ लाख किलोभन्दा बढी प्रशोधित चिया नेपालकै उद्योगमा थन्किएको छ।

नेम्वाङले यो समस्या तथ्याङ्कमा मात्र सीमित नभई किसानको जीवनसँग जोडिएको गम्भीर संकट भएको बताएका छन् । उनका अनुसार किसानले वर्षभर मेहनत गरेर उत्पादन गरेको चिया बिक्री नहुँदा आम्दानी रोकिएको छ र जीवनयापनमै समस्या देखिएको छ । चिया इलामका किसानका लागि केवल बाली नभई शिक्षा, स्वास्थ्य, ऋण भुक्तानी र परिवारको जीविकोपार्जनसँग जोडिएको आधार भएको उनले बताए ।

उनले उद्योग बन्द हुँदा रोजगारी, लगानी, निर्यात र विदेशी मुद्रा आर्जनमा समेत प्रत्यक्ष असर पर्ने भन्दै यो समस्या राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको उल्लेख गरे । नेम्वाङले गुणस्तर परीक्षणको विरोध नभए पनि प्रक्रिया पारदर्शी, समयबद्ध र व्यवहारिक हुनुपर्नेमा जोड दिए ।

उनले भारततर्फको नियमअनुसार प्रयोगशाला प्रतिवेदन पाँच दिनभित्र उपलब्ध हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा ढिलाइका कारण चिया गोदाममै थन्किएको बताए ।

सरकारसँग उनले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी रोकिएको चिया बिक्री तथा निकासी खुलाउन, भारतीय गोदाममा रोकिएका चियाको छिटो परीक्षण र बिक्री अनुमति दिन, प्रयोगशाला प्रमाणपत्रको पारस्परिक मान्यता सुनिश्चित गर्न, उद्योगलाई सहुलियतपूर्ण कर्जा र किसान भुक्तानीको व्यवस्था गर्न तथा पूर्वी नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त परीक्षण प्रयोगशाला स्थापना गर्न माग गरेका छन् ।

नेम्वाङले चियाको उत्पादन प्रशासनिक ढिलाइमा रोक्न नहुने भन्दै तत्काल परिणाममुखी कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

अन्य समाचारहरु