ककरोच जनता पार्टीका संस्थापक अभिजीतलाई जयपुरमा हानियो थप्पड

काठमाडौँ । भारतको ककरोच जनता पार्टी (सिजेपी) का संस्थापक अभिजीत दीपकेमाथि जयपुरमा प्रदर्शनका क्रममा हातपात भएको छ ।

सोमबार शहीद स्मारकमा आयोजित विरोध प्रदर्शनका क्रममा एक अज्ञात व्यक्तिले अभिजीत दीपकेलाई थप्पड हानेपछि घटनास्थलमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

घटनापछि प्रदर्शनस्थलमा भागदौड मच्चिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्दै दुई जना युवालाई नियन्त्रणमा लिएको छ । साथै प्रदर्शनकारीहरूलाई पनि त्यहाँबाट हटाइएको थियो ।

हाल घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

ककरोच जनता पार्टीले निट प्रश्नपत्र चुहावट प्रकरण, शिक्षा प्रणालीमा सुधार, बेरोजगारी तथा विद्यार्थी र युवासँग सम्बन्धित विभिन्न माग राख्दै प्रदर्शन आयोजना गरेको थियो ।

प्रदर्शनका क्रममा सहभागीहरूले भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा समेत माग गरेका थिए ।