
-अनिल नेपाली / arghakhanchi.com
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय भारतीय पर्यटकको उल्लेखनीय वृद्धि भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार हाल दैनिक सरदर १० हजार भारतीय पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन्।


कार्यालयका तथ्याङ्कअनुसार मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकमध्ये करिब ९४ प्रतिशत भारतीय नागरिक रहेका छन्। बाँकी ६ प्रतिशत अन्य मुलुकका पर्यटक रहेको एक्यापले जनाएको छ।

जनवरीदेखि मे महिनासम्मको अवधिमा मात्रै मुस्ताङमा कुल १ लाख ४२ हजार ७३९ विदेशी पर्यटक भित्रिएका छन्। त्यसमध्ये १ लाख २९ हजार ३४१ जना भारतीय पर्यटक रहेका छन् भने १३ हजार ३९८ जना अन्य देशका पर्यटक रहेका छन्।


गत मे महिनामा मात्र ६५ हजार ९९४ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए, जसमा ६१ हजार ७९८ जना भारतीय र ४ हजार १९६ जना अन्य देशका नागरिक रहेको तथ्याङ्क छ।
एक्यापका कार्यालय प्रमुखका अनुसार सन् २०२६ को पहिलो पाँच महिनामा मुस्ताङ आउने विदेशी पर्यटकमध्ये करिब ९१ प्रतिशत भारतीय र ९ प्रतिशत अन्य मुलुकका रहेका छन्। सार्क राष्ट्रबाट आउने पर्यटकमध्ये अधिकांश भारतीय नागरिक नै रहेका छन्।


विशेषगरी गर्मी बिदाको समयमा भारतबाट आउने पर्यटकको संख्या अत्यधिक बढ्ने गरेको छ। तीमध्ये ८० प्रतिशतभन्दा बढी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुग्ने गरेको अधिकारीहरूले बताएका छन्।
भारतीय पर्यटकको बढ्दो आगमनसँगै मुक्तिनाथ क्षेत्रको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन गतिविधि उल्लेखनीय रूपमा बढेको छ। मुक्तिनाथ मन्दिर क्षेत्रमा यतिबेला नेपाली र भारतीय पर्यटकको ठूलो भीड देखिन थालेको छ।
पर्यटकको संख्या बढेसँगै होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसाय पनि चलायमान बनेका छन्। स्थानीय पर्यटन व्यवसायीहरूले भारतीय पर्यटकको आगमनले मुस्ताङको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको बताएका छन्।


#Mustang #Muktinath #TourismNepal #IndianTourists #NepalTourism #AnnapurnaConservationArea #ACAP #TravelNepal #ReligiousTourism #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD




