
-अनिल नेपाली, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–११ ले पालिकाको पहिचान र गरिमालाई थप उजागर गर्ने उद्देश्यले शितगंगा नगरपालिका र कपिलवस्तुको शिवराज नगरपालिकाको सिमानामा पर्ने चर्चित भाइरल डाँडा मा “शितगंगा–११, अर्घाखाँची” लेखिएको स्वागत तथा परिचय बोर्ड स्थापना गरेको छ।


शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल को प्रमुख आतिथ्यता तथा वडा नं. ११ का अध्यक्ष नवराज भुसाल को सक्रिय पहलमा बोर्ड स्थापना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले शितगंगाको पहिचान, इतिहास र सम्भावनालाई बाहिरी जगतसम्म पुर्याउन यस्ता पहल प्रभावकारी हुने बताउनुभयो। उहाँले स्थानीय पर्यटन प्रवर्द्धन, भौगोलिक पहिचान र नगरको प्रतिष्ठा अभिवृद्धिमा यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।


वडा अध्यक्ष नवराज भुसालले वडाको समग्र विकास, सेवा प्रवाह र जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताउनुभयो। निर्वाचित भएपछि विकास निर्माणसँगै सामाजिक तथा सार्वजनिक हितका कार्यमा सक्रिय रहँदै स्थानीयवासीको विश्वास जित्न सफल भएको सहभागीहरूको भनाइ थियो।


कार्यक्रममा वडा सदस्य, कार्यपालिका सदस्य, पूर्व जनप्रतिनिधि, पूर्व कार्यपालिका सदस्य तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।













