
अमेरिका र इरानका नेताहरूबीच एक समझदारी पत्रमा विद्युतीय माध्यमबाट हस्ताक्षर भएसँगै यो तत्कालै कार्यान्वयनमा आएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बिहीबार यस ऐतिहासिक विकासको पुष्टि गरेका हुन् । यो कदमले मध्यपूर्वमा जारी तनाव कम हुने आशा जगाए पनि दिगो शान्ति स्थापनाका विषयमा भने यस क्षेत्रका सर्वसाधारणमा संशय र सावधानी देखिएको छ । तेहरानका बासिन्दाहरूले क्षेत्रीय स्थिरताको सम्भावनालाई स्वागत गरे पनि सम्झौताको दीर्घकालीन स्थायित्वप्रति प्रश्न उठाएका छन् ।
तेहरानका स्थानीय अली अहमदीले यो शान्ति दिगो हुनेमा आशंका व्यक्त गर्नुभयो । अर्का बासिन्दा बन्दे मोहम्मदीले इरानको राष्ट्रिय हित र जनताको मर्यादा सुनिश्चित हुने अवस्थामा मात्र सम्झौताको अर्थ रहने टिप्पणी गर्नुभयो । दशकौंदेखि द्वन्द्वको चपेटामा परेको लेबनानमा भने अझै पनि गहिरो अविश्वास कायम छ । लेबनानी नागरिक बुश्र अल बरदानले इजरायलले अमेरिकाको अडानलाई पालना गर्नेमा आशंका व्यक्त गर्नुभयो । विगतका युद्धहरूमा आफ्ना आफन्त र घरबास गुमाएको पीडा सुनाउँदै उनले युद्धविरामका प्रयासहरू सफल हुनेमा भरपर्दो आधार नदेखेको बताउनु भयो ।


यता इराकमा भने यो सम्झौताले आर्थिक राहत ल्याउन सक्ने अपेक्षा गरिएको छ । इराकी नागरिक अली मुसाका अनुसार शान्ति प्रयासले स्ट्रेट अफ हर्मुजमार्फत हुने विश्वव्यापी व्यापारलाई सहज बनाउन र अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू पूरा गर्न मद्दत पु¥याएमा यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ ।

इजिप्टका सर्वसाधारणले पनि क्षेत्रीय तनाव कम हुँदा आर्थिक दबाब घट्ने आशा व्यक्त गरेका छन् । इजिप्टका नागरिक इस्लाम एल–सय्यदले इरानसँग सम्बन्धित तनावका कारण इजिप्टमा इन्धनको मूल्य र दैनिक उपभोग्य वस्तुको लागत बढेको उल्लेख गर्दै यो सम्झौताले महँगी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विभिन्न देशका नागरिकहरूको यी प्रतिक्रियाले के स्पष्ट पार्छ भने, अमेरिका र इरानबीचको यो समझदारीले कूटनीतिक सफलताको संकेत गरे पनि यसको वास्तविक सफलता भने भविष्यको कार्यान्वयन र क्षेत्रीय शक्तिहरूको भूमिकामा निर्भर रहनेछ ।





