कक्षा १२ को नतिजा ४० दिनभित्रै सार्वजनिकः सुशासन र शैक्षिक सुधारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि

शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षा फल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिवद्धता र शैक्षिक सुधारको महत्वपूर्ण फड्कोका रूपमा व्याख्या गर्नुभएको छ ।

शुक्रवार मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा उहाँले नतिजा प्रकाशनमा गरिएको तदारुकताले समग्र शैक्षिक क्यालेन्डरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्रीले यस वर्ष कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनभित्रै सार्वजनिक गर्न सफल भएको जानकारी दिनुभयो ।

विगतमा नतिजा सार्वजनिक गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गरेकोमा यस पटक प्रशासनिक प्रक्रियालाई चुस्त बनाउँदै छोटो अवधिमै काम सम्पन्न गरिएको उहाँको भनाइ छ । नतिजा ढिलो आउँदा विश्वविद्यालयको भर्ना, कक्षा सञ्चालन र परीक्षासमेत पछाडि धकेलिने गरेको स्मरण गर्दै मन्त्रीले अब विश्वविद्यालयहरूलाई पनि समयमै परीक्षा लिन र नतिजा प्रकाशन गर्न यसले प्रेरित गर्ने उल्लेख गर्नुभयो । त्रिभूवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूले यस वर्षदेखि भर्ना र पठनपाठनको कार्य तालिका अगाडि नै शुरु गर्ने तयारी गरिसकेको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘यो केवल दिनको कटौती मात्र नभई सुशासनको एउटा बलियो उदाहरण हो । यसले अनावश्यक प्रशासनिक झमेलाहरूलाई हटाउँदा ४० दिनमै नतिजा ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ । यसबाट विश्वविद्यालयको भर्ना प्रक्रिया र शैक्षिक सत्र पनि समयमै सुरु हुने सुनिश्चितता भएको छ ।’

परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै मन्त्रीले नतिजालाई जीवनको एउटा खण्डका रूपमा मात्र लिन र सोचेजस्तो नतिजा नआएका विद्यार्थीलाई विचलित नहुन आग्रह गर्नुभयो । उहाँले पूरक परीक्षाको तयारीमा जुट्न हौसला दिँदै आगामी शैक्षिक यात्राका लागि नेपालकै विश्वविद्यालयहरूमा पर्याप्त तयारी र अवसरहरू उपलब्ध रहेको बताउनु भयो । सरकारले विद्यार्थीको अमूल्य समय खेर जान नदिन र शैक्षिक निकायहरूको कार्यक्षमता अभिवृद्धि गर्न आगामी दिनमा पनि यस्तै कार्यदक्षता प्रदर्शन गर्ने प्रतिवद्धता जनाएको छ ।

अन्य समाचारहरु