टर्कीद्वारा जुलाई १ देखि जलमार्ग पार गर्ने विदेशी जहाजको पारवहन शुल्कमा वृद्धि

टर्कीले राज्यको राजस्व वृद्धि गर्ने उद्देश्यले आगामी जुलाई १ देखि आफ्ना जलमार्गहरू (स्ट्रेट्स) प्रयोग गर्ने अन्तर्राष्ट्रिय जहाजहरूको पारवहन शुल्क बढाउने निर्णय गरेको छ । टर्कीका यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरायोग्लुले शुक्रवार यससम्बन्धी जानकारी दिनुभएको हो ।नयाँ व्यवस्थाअनुसार टर्कीको कुनैपनि बन्दरगाहमा नरोकिईकन केवल जलमार्ग प्रयोग गरेर जाने जहाजहरूको पारवहन शुल्क प्रति नेट टन ५.८३ अमेरिकी डलरबाट बढाएर ६.७० डलर पु¥याइनेछ  ।

मन्त्री उरायोग्लुकाअनुसार इस्तानबुलको बोस्फोरस र उत्तर–पश्चिमी प्रान्त चानककालेको डार्डनेल्स जलमार्गबाट हुने वार्षिक राजश्व आगामी जुलाई २०२५ देखि जुन २०२६ सम्मको अवधिमा २५ करोड ४० लाख डलर पुग्ने प्रक्षेपण गरिएको छ ।  शुल्कमा गरिएको निरन्तर परिमार्जनका कारण जलमार्गबाट प्राप्त हुने राजश्वमा उल्लेख्य वृद्धि भएको मन्त्रीले उल्लेख गर्नुभयो । तथ्याङ्कअनुसार सन् २०२१ जुलाईदेखि २०२२ जुनसम्मको अवधिमा ३ करोड ८० लाख डलर रहेको राजश्व २०२४ जुलाईदेखि २०२५ जुनसम्मको अवधिमा वृद्धि भई २२ करोड ३० लाख डलर पुगेको छ ।

उल्लेखनीय छ कि सन् १९८३ देखि सन् २०२२ सम्म यो पारवहन शुल्क प्रति नेट टन ०.८० डलरमा स्थिर रहेको थियो । सरकारले सन् २०२२ मा पहिलोपटक यसमा परिमार्जन गरेपछि हाल यसलाई वार्षिक रूपमा समायोजन गर्ने नीति अवलम्बन गरेको छ । टर्कीका यी जलमार्गहरूले काला सागरका उत्पादक राष्ट्रहरूलाई विश्व बजारसँग जोड्नुका साथै अन्तर्राष्ट्रिय समुद्री व्यापारिक मार्गको एक महत्वपूर्ण कडीका रूपमा काम गर्दै आएका छन् ।