
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी वायुको प्रभाव तथा देशका अन्य भू–भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ।


आज दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागका अनुसार कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहरको प्रभाव कायम रहने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिन रहने विभागको पूर्वानुमान छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले सम्भावित वर्षा, चट्याङ तथा तातो लहरबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।




