अमेरिकी उपराष्ट्रपति भान्स इरानसँग वार्ता गर्न स्विट्जरल्यान्ड प्रस्थान

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् । उनी इरानसँग हुने वार्तामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर भने यसअघि नै स्विट्जरल्यान्ड पुगिसकेका छन् । उनीहरूले वार्ताका प्राविधिक पक्षहरू सम्हालिरहेका छन् ।

प्रस्थानअघि भान्सले पछिल्लो एक सातामा आफ्नो भ्रमण तालिकामा धेरै परिवर्तन भएको भन्दै यसलाई ‘संवेदनशील समन्वय प्रक्रिया’ को संज्ञा दिएका थिए। उनले कूटनीतिक मर्यादा र प्रोटोकललाई विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

भान्सका अनुसार इरानसँगको वार्तामा अमेरिकाका तीन प्रमुख प्राथमिकता रहेका छन् । पहिलो, वार्ताको संरचना तय गर्ने, दोस्रो, इरानको आणविक कार्यक्रमसम्बन्धी मुद्दामा प्रगति हासिल गर्ने र तेस्रो, लेबनानमा युद्धविराम कायम गराउने ।

भान्सले आफू स्विट्जरल्यान्डमा एक वा दुई दिन मात्रै बस्ने भए पनि इरानको आणविक सामग्री व्यवस्थापनसम्बन्धी विषयमा महत्वपूर्ण प्रगति हुने अपेक्षा गरेको बताए । उनले लेबनानमा युद्धविराम कायम गर्नु पनि महत्वपूर्ण प्राथमिकता भएको उल्लेख गरेका छन् । पछिल्लो समय इजरायलबाट फेरि मिसाइल आक्रमण भएपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको उनले बताए ।

यसैबीच, इरानको प्रतिनिधिमण्डल पनि अमेरिकासँग वार्ताका लागि शनिबार स्विट्जरल्यान्ड पुगेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । वार्ता स्विट्जरल्यान्डको पर्वतीय पर्यटकीय क्षेत्र बुर्गेनस्टकमा हुने तय भएको छ । इरानी प्रतिनिधिमण्डलको नेतृत्व मुख्य वार्ताकार मोहम्मद बाघेर घालिबाफले गरिरहेका छन् ।