अस्ट्रेलियाको मुख्य भूमिमा पहिलोपटक एच फाइभ एन वान बर्डफ्लु सङ्क्रमण पुष्टि

अस्ट्रेलिया सरकारले देशको मुख्य भूमिमा पहिलोपटक अति सङ्क्रामक मानिने एच फाइभ एन वान प्रजातिको बर्डफ्लु फेला परेको पुष्टि गरेको छ । पश्चिमी अस्ट्रेलियाको एक राष्ट्रिय निकुञ्जमा भेटिएको फिरन्ते चरामा सो भाइरस पुष्टि भएको हो ।

अस्ट्रेलियाकी कृषि, मत्स्यपालन तथा वन मन्त्री जुली कोलिन्सले शनिवार क्यानबेरामा सञ्चारकर्मीहरूसँग बोल्दै अस्ट्रेलियन सेन्टर फर डिजिज प्रिपर्डनेसको परीक्षणले उक्त तथ्य पुष्टि गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार गत जुन १४ मा दक्षिणी पश्चिमी अस्ट्रेलियाको राष्ट्रिय निकुञ्जमा मृत फेला परेको ब्राउन स्कुआ नामक समुन्द्री चरामा सो भाइरस भेटिएको थियो ।

सन् २०२० देखि विश्वभर फैलिएको र लाखौँको सङ्ख्यामा चराचुरुङ्गी तथा अन्य जनावरहरूको मृत्युको कारण बनेको यो घातक भाइरस अस्ट्रेलियाको मुख्य भूमिमा देखिएको यो पहिलो घटना हो । सङ्क्रमण पुष्टि भएसँगै अस्ट्रेलिया सरकारले सम्भावित महामारीको पूर्वतयारीका लागि ११ करोड ३० लाख अस्ट्रेलियन डलर (करिव ७ करोड ९२ लाख अमेरिकी डलर) बजेट विनियोजन गरेको छ ।

यसैगरी, सोही क्षेत्र नजिकै गत बिहीवार बिरामी अवस्थामा भेटिएको जायन्ट पेट्रेल प्रजातिको अर्को चरालाई क्वारेन्टाइनमा राखिएको छ । अस्ट्रेलियाकी प्रमुख पशु चिकित्सा अधिकारी बेथ कुकसनले सर्वसाधारणलाई बिरामी वा मृत चराहरूको सम्पर्कमा नआउन र त्यस्तो अवस्था देखिएमा तत्काल पशु रोग सम्बन्धी हटलाइनमा जानकारी गराउन आग्रह गर्नुभएको छ ।

सङ्कटापन्न प्रजाति सम्बन्धी आयुक्त फियोना फ्रेजरले यो भाइरस अस्ट्रेलियाका अन्य पक्षी समूहमा फैलिएको छ वा छैन भन्ने विषय केही दिनभित्रै स्पष्ट हुने जानकारी दिनुभयो । अधिकारीहरूले यसको रोकथाम र निगरानीका लागि उच्च सतर्कता अपनाइएको बताउनु भयो ।