
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र प्राप्तिका लागि भएका विगतका संघर्ष र शहीदहरूको बलिदानलाई नजरअन्दाज नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह गर्नुभएको छ ।
चितवनमा आयोजित रास्वपाको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।
नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाको उदय र उत्साहलाई सकारात्मक रूपमा लिँदै महामन्त्री थापाले विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य र पञ्चायतकालीन संघर्षका कथाहरूलाई अवमूल्यन नगर्न सुझाव दिनुभयो ।

सभापति थापाले विगतका कमीकमजोरीबाट सिक्दै र सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनैपनि राजनीतिक दलको वास्तविक शत्रु अर्को दल नभई गरिबी, अज्ञानता, विभेद र अक्षमता भएको उल्लेख गर्नुभयो । वर्तमान राजनीतिक व्यवस्था र संविधानको रक्षा गर्दै जनताको अवस्था बदल्न सबै दलहरू जिम्मेवार हुनुपर्ने उहाँको तर्क थियो ।


उहाँले भन्नुभयो, ‘आज चितवन आउँदा सहरभरि नीलो झण्डा देखेँ । चितवनले यो ऊर्जा डिजर्भ गर्छ, र राष्ट्रिय स्वतन्त्र पार्टीको पनि यो हक हो । भोलि हजारौँ प्रतिनिधि यही नीलो झण्डामुनि बसेर नेपालको भविष्यबारे छलफल गर्दै हुनुहुन्छ, त्यसका लागि शुभकामना । अगाडि बढ्दा विगतलाई इन्कार गर्नु हुँदैन । हामीसँग प्रेरणादायी इतिहास पनि छ र सिक्नुपर्ने कमजोरीहरू पनि छन् ।
विशेष गरी लोकतन्त्रका लागि बलिदान दिने शहीदहरू र आन्दोलनका योद्धाहरूको योगदान कहिल्यै बिर्सनु हुँदैन । आज हामीले पाएको लोकतान्त्रिक अधिकार उनीहरूको संघर्षको परिणाम हो । अब हाम्रो साझा लक्ष्य सुशासन, विकास र सेवा प्रवाह हो । शिक्षामा, स्वास्थ्यमा र राज्य सञ्चालनका सबै क्षेत्रमा सुधार गर्नुपर्छ । हाम्रो वास्तविक दुश्मन गरिबी, अज्ञानता, विभेद र अक्षमता हुन् । विधि, संविधान र लोकतान्त्रिक मूल्यको संरक्षण गर्दै देशको अवस्था परिवर्तन गर्ने जिम्मेवारी हामी सबैको हो । यही विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दछु ।’

उहाँले रास्वपा सभापति रवि लामिछाने लगायत सिङ्गो टोलीलाई अधिवेशनको सफलताका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।




