
काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहले एकै फिल्म परियोजनाबाट करिब ३२५ करोड भारतीय रुपैयाँ आम्दानी गर्दै भारतीय चलचित्र उद्योगमा नयाँ कीर्तिमान बनाएको दाबी गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार अभिनेता सिंहले फिल्म ‘धुरन्धर’ बाट ३२५ करोड कमाएका हुन् । दुई भागमा प्रदर्शन गरिएको यो फिल्मले विश्वभर उत्कृष्ट व्यापार गरेको थियो ।

दुवै भागले मिलेर विश्वव्यापी रूपमा करिब ३ हजार २०० करोड भारु कमाएको बताइएको छ । त्यसमध्ये भारतबाट मात्रै १ हजार ९०० करोड रुपैयाँभन्दा बढी आम्दानी भएको थियो । रिपोर्टका अनुसार रणवीरले यस चलचित्रका लागि पारम्परिक पारिश्रमिक लिएका थिएनन् । उनले नाफा साझेदारीको मोडल अपनाएका थिए, जसअन्तर्गत चलचित्रको नाफामा प्रत्यक्ष हिस्सा पाएका थिए ।
फिल्मको बजेट बढेपछि उनले व्यक्तिगत रूपमा पनि लगानी गरेका कारण उनको हिस्सा अझ बढेको बताइएको छ । हल प्रदर्शनबाट भएको आम्दानीसँगै डिजिटल अधिकार, टेलिभिजन प्रसारण अधिकार र सङ्गीत अधिकारबाट प्राप्त रकम जोड्दा रणवीरको कुल हिस्सा करिब ३२५ करोड रुपैयाँ पुगेको जनाइएको छ ।

यसअघि सबैभन्दा धेरै आम्दानी गर्ने कीर्तिमान दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको नाममा थियो । उनले सन् २०२४ मा प्रदर्शन भएको ‘जेलर’ चलचित्रबाट २५० करोड रुपैयाँभन्दा बढी कमाएका थिए । त्यस्तै अल्लु अर्जुन र प्रभासले पनि क्रमशः ‘पुष्पा २’ र ‘कल्कि २८९८ एडी’ बाट २०० करोड रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन् ।
बलिउडतर्फ भने यसअघि यो कीर्तिमान शाहरुख खानको नाममा थियो । उनले सन् २०२३ मा ‘पठान’ र ‘जवान’ जस्ता चलचित्रबाट प्रति चलचित्र करिब २०० करोड रुपैयाँ आम्दानी गरेका थिए ।





