इरानले सम्झौताका सर्त पालना नगरे फेरी कारवाही गर्छौं- ट्रम्प

काठमाडौँ । स्विट्जरल्यान्डमा भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताका सर्तहरू पालना नगरे वा उचित व्यवहार नगरेमा अमेरिका पुनः कारबाही गर्न तयार रहेको बताएका छन्।

उनले इरानले आफ्ना प्रतिबद्धता पूरा नगरे आफूले आवश्यक कदम चाल्ने स्पष्ट पारेका छन् । साथै, हालैका घटनापछि इरानको सैन्य तथा आर्थिक अवस्था निकै कमजोर बनेको दाबी गर्दै इरानसँग अमेरिकामाथि दबाब सिर्जना गर्ने क्षमता नरहेको बताए ।

ट्रम्पले इरानलाई परमाणु हतियार हासिल गर्नबाट रोक्नु आफ्नो सबैभन्दा ठूलो प्राथमिकता भएको पनि उल्लेख गरे । त्यसका लागि लामो समयसम्म सैन्य कारबाही गर्नुपरेर विश्वव्यापी आर्थिक मन्दीको जोखिम उत्पन्न भए पनि त्यो कदम आवश्यक हुने उनको भनाइ थियो ।

यता, इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले वार्तालाई पनि द्वन्द्वकै एउटा हिस्सा भएको बताएका छन् । उनले युद्धभूमिमा प्राप्त सफलता कूटनीतिक पहलमार्फत अघि नबढाइएसम्म स्थायी राजनीतिक र कानुनी उपलब्धिमा रूपान्तरण हुन नसक्ने बताए । गालिबाफले वार्ता पनि संघर्षको एउटा माध्यम भएको उल्लेख गर्दै इरानले यसलाई कमजोरीका रूपमा नभई राष्ट्रिय हितको संरक्षण गर्ने रणनीतिक उपायका रूपमा लिएको बताए ।

उनले होर्मुज जलडमरूमध्य अब युद्धअघिको अवस्थामा नफर्कने पनि बताएका छन् । उनका अनुसार आगामी दिनमा उक्त महत्त्वपूर्ण समुद्री मार्गको व्यवस्थापन इरानले आफ्नै ढङ्गले गर्नेछ, यद्यपि अन्तर्राष्ट्रिय नियमहरूको पालना भने जारी रहनेछ ।

स्विट्जरल्यान्डमा अमेरिकासँग भएको प्राविधिक वार्ताको पहिलो चरणपछि गालिबाफले अमेरिकाप्रति इरानको अविश्वास यथावत् रहेको दोहोर्याए । उनले कहिल्यै अमेरिकामाथि विश्वास नगरेको बताउदै अहिले पनि र भविष्यमा पनि सतर्क रहने बताएक छन् ।