सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका साहको नाम प्रतिनिधि सूचीबाटै हटाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा सभापति पदमा रवि लामिछानेविरुद्ध उम्मेदवारी दिने तयारी गरेका नेता भोलाकुमार साह कानुले आफ्नो नाम प्रतिनिधिको अन्तिम सूचीबाट हटाइएको आरोप लगाएका छन्।

बारा–३ बाट प्रतिनिधिका रूपमा चयन भएका साहले आफूले सभापति पदमा उम्मेदवारी घोषणा गरेपछि योजनाबद्ध रूपमा आफ्नो नाम प्रतिनिधिको अन्तिम सूचीबाट हटाइएको दाबी गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा उम्मेदवारी घोषणा गरेको चार दिनपछि आफू प्रतिनिधि नै नरहेको अवस्था सिर्जना गरिएको बताएका छन्।

‘मेरो उम्मेदवारी फिर्ता भएको थिएन। मैले फेसबुकमार्फत सभापति पदमा उम्मेदवारी घोषणा गरेको थिएँ। आज मेरो घोषणा गरेको चौथो दिन हो,’ साहले भने, ‘यसअघि प्रकाशित प्रतिनिधिको नामावलीमा मेरो नाम थियो। तर अन्तिम सूची प्रकाशित हुँदा मेरो नाम एकाएक हटाइयो।’

साहले आफूलाई प्रतिनिधिबाट हटाइनुको मुख्य कारण सभापति पदमा दाबेदारी प्रस्तुत गर्नु नै भएको आरोप लगाएका छन्। उनका अनुसार महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया खुला र प्रतिस्पर्धात्मक हुनुपर्ने भए पनि फरक मत राख्ने र नेतृत्वलाई चुनौती दिने व्यक्तिलाई किनारा लगाउने प्रयास भएको छ।

रास्वपाले सार्वजनिक गरेको मधेश प्रदेशको प्रतिनिधि सूचीमा साहको नाम २०२ नम्बरमा समावेश थियो। प्रारम्भिक सूचीमा नाम समावेश भए पनि अन्तिम सूचीमा उनको नाम नरहेपछि उनले पार्टी नेतृत्वमाथि प्रश्न उठाएका छन्।

साह पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै आएका नेता हुन्। उनी यसअघि बारा जिल्ला सभापतिबाट बर्खास्त गरिएका चन्दन स्वर्णकारको पक्षमा खुलेर उभिएका थिए। स्वर्णकारको पार्टी सदस्यता जोगाउनुपर्ने माग गर्दै उनी सार्वजनिक रूपमा बोल्दै आएका थिए। त्यसयता उनी र पार्टी नेतृत्वबीच दूरी बढेको चर्चा हुँदै आएको छ।

महाधिवेशनको संघारमा आएको यो विवादले रास्वपाभित्र आन्तरिक लोकतन्त्र, नेतृत्व चयन प्रक्रिया र फरक मतप्रतिको व्यवहारबारे नयाँ बहस सुरु गराएको छ। पार्टीले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

महाधिवेशनमा सभापति रवि लामिछाने पुनः नेतृत्वमा दोहोरिने लगभग निश्चित मानिएको अवस्थामा वैकल्पिक उम्मेदवारका रूपमा अघि बढ्न खोजेका साहको नाम प्रतिनिधि सूचीबाट हटाइनुले प्रतिनिधिहरूबीच समेत विभिन्न प्रश्नहरू उठ्न थालेका छन्। केही प्रतिनिधिहरूले यस विषयमा स्पष्ट जवाफ दिन पार्टी नेतृत्वसँग माग गरेका छन्।

यदि साहको आरोप सत्य सावित भएमा रास्वपाले बारम्बार उठाउँदै आएको आन्तरिक लोकतन्त्र र खुला प्रतिस्पर्धाको नारामाथि नै प्रश्नचिह्न खडा हुन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ। यद्यपि पार्टीको आधिकारिक धारणा सार्वजनिक नभएसम्म घटनाको वास्तविक कारण खुल्न बाँकी नै रहेको छ।

images