मतदान शुरु हुन अझै २-३ घण्टा लाग्छ- महामन्त्री बुर्लाकोटी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मतदान अबको करिब तीन घण्टामा मतदान हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

बुर्लाकोटीले निर्वाचन आयोगले उम्मेदवारको नाम इन्ट्री गर्ने काम भइरहेको जानकारी दिएका छन् । उनले भने – आयोगले उम्मेदवारीमाथि आएको दाबि विरोध हेरिरहेको छ र उम्मेदवारको फोटोसहितको नामावली इन्ट्रीको काम भइरहेको छ र अबको २ देखि ३ घण्टापछि मतदान शुरु हुन्छ ।’

९९ जना केन्द्रीय सदस्यको मतदानपछि पदाधिकारीको निर्वाचन कार्यतालिका सार्बजनिक हुने बुर्लाकोटीले बताए । मतदानमा ८० वटा ईभीएम मेशिन तयारी अवस्थामा राखिएको बताइएको छ ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय नतोकेपनि आज इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) र मोबाइल एप प्रयोग गरेर मतदान गर्ने निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिएका छन् ।

महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिले ईभीएमबाट मतदान गर्ने छन् भने विदेशमै रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिएका छन् ।

९९ केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढी प्रतिनिधिले उम्मेद्वारी दर्ता गराएपनि आयोगले अहिलेसम्म उम्मेदवारको सूची सार्बजनिक गरेको छैन । मतदान गर्ने प्रतिनिधि करिब चार हजार रहेका छन् ।