
बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ९९ करोड २२ लाखको बजेट ल्याएको छ ।
बुधबार उपप्रमुख सावित्रादेवि अर्यालले आगामी वर्षका लागि बजेट नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा चालुतर्फ २ अर्ब ७ करोड अर्थात ५२ प्रतिशत र पुँजीगत तर्फ एक अर्ब ९१ करोड अर्थात ४८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।


आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा आन्तरिक स्रोत व्यवस्थापनबाट १ अर्ब ५० करोड ३८ लाख सङ्कलन हुने लक्ष्य छ भने स्थानीय राजस्व बाँडफाँटबाट ७८ करोड ७७ लाख तथा गत आर्थिक वर्षको बचत ४० करोड गरी ३ अर्ब ८५ करोड सङ्कलन हुने अनुमान गरिएको छ । त्यस्तै सङ्घीय सरकार राजस्व बाँडफाँडबाट १९ करोड ४३ लाख र प्रदेश सरकार राजस्व बाँडफाँडबाट २ करोड ७५ लाख प्राप्त हुने बजेटमा उल्लेख छ ।

त्यस्तै सङ्घीय सरकारबाट सङ्घीय समानीकरण अनुदानबापत २९ करोड २२ लाख, सशर्त अनुदानबाट ५० करोड २५ लाख, सशर्त अनुदान (पुँजीगत) तर्फ ७ करोड ४ लाख, विशेष अनुदान (पुँजीगत) तर्फ ९० लाख र समपूरक अनुदान (पुँजीगत) तर्फ २० लाख प्राप्त हुने बजेटमा उल्लेख छ । त्यसैगरी, प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदानबापत २ करोड ३ लाख, सशर्त अनुदान (चालु) तर्फ ५६ लाख, सशर्त अनुदान (पुँजीगत) तर्फ १ करोड ७३ लाख, समपूरक अनुदान (पुँजीगत) बापत १ करोड ५० लाख र विशेष अनुदान (पुँजीगत) तर्फ २० लाख प्राप्त हुने उल्लेख छ ।





