सर्वोत्तम पेन्ट्सको आइपिओ बाँडफाँट

काठमाडौँ । सर्वोत्तम पेन्ट्स उद्योग लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ । गोलाप्रथा विधिबाट ७० हजार ५५० जना आवेदकले १०-१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

कम्पनीको जारी पुँजी ३४ करोड रुपैयाँ रहेको छ । उक्त जारी पुँजीको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

कुल सार्वजनिक निष्कासनमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो। त्यसैगरी २ प्रतिशत अर्थात् १७ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो।

यी सबै छुट्याइएको सेयरपछि बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि वितरण गरिएको हो। उक्त सेयरको बाँडफाँट बिहीबार सम्पन्न भएको कम्पनीले जनाएको छ।

आइपिओमा २८ लाख ५० हजार २५ जना आवेदकबाट ३ करोड ५ लाख २७ हजार ५४० कित्ताका लागि वैध आवेदन परेको थियो । यद्यपि ४४ हजार २०७ वटा आवेदनबाट माग गरिएको ५ लाख ५ हजार ६४० कित्ता सेयर बराबरको आवेदन भने अयोग्य ठहरिएको थियो । बाँडफाँट परिणामअनुसार गोलाप्रथा प्रणालीमार्फत ७० हजार ५५० जना आवेदकले जनही १० कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात भने खाली भएको छ ।

आइपिओको नतिजा सीडीएससी, मेरो सेयरको वेभसाइटबाट हेर्न सकिनेछ ।