रास्वपाले आफुलाई संघियताविरुद्ध उभ्यायो- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाले आफुलाई संघियताविरुद्ध उभ्याएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले चुनावमा एउटा वाचा गर्ने र सत्तामा पुगेपछि ठीक विपरीत क्रियाकलाप अघि बढाउने सत्तारूढ दलको यो चरित्रले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ नरोपोस् भन्ने कुरामा सबै सचेत हुन जरुरी रहेको बताउदै रास्वपाले आफुलाई संघियताविरुद्ध उभ्याएको आरोप लगाएका हुन् ।

उनले भनेका छन्- ‘चुनावका बेला ‘प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने’ दाबी गरेर जनताको मत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो राष्ट्रिय अधिवेशन मार्फत संघीयताकै विरुद्धमा आफूलाई उभ्याउने काम गरेको छ । चुनावमा एउटा वाचा गर्ने र सत्तामा पुगेपछि ठीक विपरीत क्रियाकलाप अघि बढाउने सत्तारूढ दलको यो चरित्रले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ नरोपोस् भन्ने कुरामा सबै सचेत हुन जरुरी छ ।

उनले संघीयता आदिवासी जनजाति, मधेसी, दलित र अल्पसंख्यक समुदाय तथा पिछडिएको क्षेत्रको दशकौँ लामो आकांक्षा र संघर्षको परिणाम हो, जसलाई ऐतिहासिक संविधानसभाले संस्थागत गरेको उल्लेख गरेका छन् ।

साथै उनले निर्वाचनका समयमा गरिएका बाचा विपरितका गतिविवि विरुद्ध एकजुट भई खबरदारी गर्न समेत आव्हान गरेका छन् ।

रास्वपाको महाधिवेशनको बन्दसत्रमा डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको दस्ताबेजमा प्रदेसको अहिलेको संरचना खारेज गरेर स्थानीय तह प्रमुखको प्रदेश काउन्सिल बनाउनुपर्ने प्रस्ताव गरेपछि राजनीतिक वृत तरंगित बनेको छ ।