आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहरको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशका केही भू–भाग तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ।

विभागले गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी ४–५ दिनभित्र मनसुन विस्तार हुने सम्भावना समेत रहेको जनाएको छ।

हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश स्थानमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागसँगै मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली रहने तथा सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तातो लहर (Heat Wave) को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले नदी, खोला तथा पहिरो प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

images