
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले वर्तमानको अशान्त विश्वमा अन्तर्राष्ट्रिय सहयोग र ऐक्यवद्धता नै एकमात्र यथार्थपरक मार्ग भएको बताउनुभएको छ । संयुक्त राष्ट्र संघको बडापत्र दिवस (यूएन चार्टर डे) का अवसरमा आयोजित महासभाको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले विश्वव्यापी चुनौतीहरूको सामना गर्न सहकार्यको महत्त्वमा जोड दिनुभएको हो ।
महासचिव गुटेर्रेसले साझा खतराहरूले घेरिएको वर्तमान विश्वमा सहकार्य गर्नु निर्दोषिता नभई स्पष्ट वास्तविकता भएको उल्लेख गर्नुभयो । कतिपयले वर्तमानको उथलपुथलबाट बच्न सीमाहरूभित्र खुम्चने वा एक्लै सङ्कटको सामना गर्न सकिन्छ भन्ने भ्रम पालेको उल्लेख गर्दै महासचिवले त्यस्तो सोच गलत रहेको स्पष्ट पार्नुभयो ।


महासचिव गुटेर्रेसले राष्ट्र संघको बडापत्रका सिद्धान्तहरू ऐच्छिक वा सम्झौतायोग्य नहुने स्पष्ट पार्नुभयो । उहाँले बडापत्रलाई आ ला कार्ट मेनु (इच्छाअनुसार छान्न मिल्ने सूची) सँग तुलना गर्दै यसका आधारभूत सिद्धान्तहरूको पालना सबैले अनिवार्य रूपमा गर्नुपर्ने बताउनु भयो । जब यी आधारहरू कमजोर हुन्छन्, तब प्रत्येक राष्ट्रको सुरक्षा जोखिममा पर्ने उहाँको तर्क थियो । उहाँले अन्तर्राष्ट्रिय मानवीय कानुन लगायत बडापत्रका उद्देश्य र सिद्धान्तहरूको सम्मान गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभयो ।

सम्बोधनका क्रममा उहाँले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न संयुक्त राष्ट्र संघमा सुधारको आवश्यकता रहेको औंल्याउनु भयो । तर त्यस्तो सुधारले संस्थालाई कमजोर बनाउने नभई थप सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कूटनीति र क्षेत्रीय ऐक्यवद्धतालाई बलियो बनाउँदै दिगो विकासका कार्यहरूलाई तिब्रता दिनुपर्ने आवश्यकतामा महासचिवको जोड थियो।
उहाँले शान्ति, मानवीय मर्यादा र अवसरहरू एकअर्काका पूरक भएको बताउनु भयो ।

अन्तमा, महासचिव गुटेर्रेसले बहुपक्षीयतामार्फत नै जनताका लागि ठोस नतिजा निकाल्न सकिने र आपसी विश्वास पुनस्र्थापना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । विपद्को समयमा जन्मिएको राष्ट्र संघको बडापत्रलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै न्यायपूर्ण र शान्तिपूर्ण विश्व निर्माणका लागि हामी जनता भएर लाग्नुपर्ने उहाँले आह्वान गर्नुभयो ।




