
काठमाडौँ । भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ९२० जनाको मृत्यु भएको छ । मृतकमध्ये कम्तीमा ४० जना विभिन्न देशका विदेशी नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पोर्चुगलका समुदाय मामिलासम्बन्धी राज्यमन्त्री एमिडियो साउसाका अनुसार भूकम्पमा २८ जना पोर्चुगाली नागरिकको ज्यान गएको छ ।

यस्तै, भेनेजुएलास्थित चिनियाँ दूतावासलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्थाले सात जना चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ । स्पेनका विदेशमन्त्री होसे म्यानुएल अल्बारेसका अनुसार पाँच जना स्पेनी नागरिकको मृत्यु भएको छ भने ११९ जना अझै बेपत्ता छन् ।


ब्राजिल सरकारले पनि आफ्ना दुई जना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । त्यस्तै, इटालीको विदेश मन्त्रालयले एक इटालियन–भेनेजुएली नागरिकको ज्यान गएको जनाएको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले भूकम्पपछि भएको अन्तर्राष्ट्रिय उद्धार तथा राहत प्रयासलाई निकै प्रभावकारी रहेको बताएका छन् ।

उनका अनुसार रुस, युक्रेन, अमेरिका, युरोप तथा मध्यपूर्वका विभिन्न देशबाट उद्धार टोलीहरू भेनेजुएला पुगेका छन् । संकटको बेला राजनीतिक मतभेदभन्दा मानवीय सहयोग प्राथमिकतामा परेको उनले उल्लेख गरेका छन् ।
फ्लेचरका अनुसार संयुक्त राष्ट्रसंघले हाल ३९ वटा उद्धार टोली परिचालन गरेको छ भने करिब दुई हजार अन्तर्राष्ट्रिय उद्धारकर्मी भेनेजुएलामा राहत तथा उद्धार कार्यमा खटिएका छन् ।

उद्धार कार्यमा १११ वटा विशेष तालिमप्राप्त खोजी कुकुर पनि प्रयोग गरिएको छ। ती कुकुरले गन्ध पहिचान गर्ने क्षमता र कठिन भूभागमा खोजी गर्न सक्ने भएकाले उद्धार अभियानमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
यद्यपि, फ्लेचरले पछिल्लो १८ महिनामा संयुक्त राष्ट्रसंघको मानवीय सहायता बजेट झन्डै आधाले घटेकाले राहत तथा उद्धार अभियानका लागि आवश्यक स्रोत जुटाउनु चुनौतीपूर्ण बनेको बताएका छन्।




