लेबनान–इजरायल–अमेरिकाबीच ऐतिहासिक त्रिपक्षीय सम्झौता, मध्यपूर्वमा शान्तिको नयाँ आशा

बेरुत/वाशिङ्टन । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्दै दीर्घकालीन शान्ति स्थापना गर्ने उद्देश्यका साथ लेबनान, इजरायल र अमेरिकाबीच ऐतिहासिक त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकामा सम्पन्न पाँचौं चरणको उच्चस्तरीय वार्तापछि भएको उक्त सम्झौताले क्षेत्रीय सुरक्षा र स्थायित्वतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सम्झौताअनुसार लेबनानी सेनाले इजरायलले कब्जा गरेका क्षेत्रहरूको नियन्त्रण क्रमिक रूपमा सम्हाल्ने तथा हिजबुल्लाहलाई निशस्त्र बनाउने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। यससँगै द्वन्द्व प्रभावित क्षेत्रमा स्थायी शान्ति कायम गर्न आवश्यक सुरक्षा संयन्त्र विकास गर्ने विषयमा पनि तीन पक्षबीच सहमति भएको समाचार संस्था एएफपीले जनाएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले यो सम्झौताले मध्यपूर्वमा स्थायी शान्ति र सुरक्षाको नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गर्दै प्रभावित नागरिकका लागि १० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराइने जानकारी दिनुभएको छ।

यद्यपि सम्झौतापछि पनि केही महत्वपूर्ण विषयमा मतभेद कायमै रहेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ले हिजबुल्लाहले पूर्ण रूपमा हतियार नछोडेसम्म इजरायली सेना लेबनानी भूमिबाट फिर्ता नहुने स्पष्ट पार्नुभएको छ। उता हिजबुल्लाहका प्रमुख नईम कासिम ले भने इजरायलले कुनै पनि पूर्वसर्त बिना लेबनानी भूमि तत्काल खाली गर्नुपर्ने अडान दोहोर्याउनुभएको छ।

वर्षौंदेखिको द्वन्द्वका कारण १० लाखभन्दा बढी लेबनानी नागरिक विस्थापित भएका छन् भने ४ हजार २ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ। यस्तो अवस्थामा भएको पछिल्लो त्रिपक्षीय सम्झौताले मध्यपूर्वमा शान्ति स्थापना हुने अपेक्षा बढाए पनि यसको प्रभावकारी कार्यान्वयन र पक्षहरूबीचको विश्वास निर्माण नै आगामी चुनौतीका रूपमा रहेको विश्लेषण गरिएको छ।