
सिरियाको मध्य हमा प्रान्तस्थित प्राचीन शहर ‘अपामिया’ को उचाईमा अवस्थित ऐतिहासिक किल्ला ‘कलात अल–मदिक’ मा वर्षौंदेखिको द्वन्द्वका कारण विस्थापित भएका परिवारहरू पुनः फर्कन थालेका छन् । हाल करिव ५०० स्थानीय बासिन्दाहरू यस ऐतिहासिक किल्लाभित्र आफ्ना क्षतिग्रस्त घरहरूको पुनर्निर्माण गर्दै दैनिक जीवनलाई पुनः लयमा फर्काउने प्रयासमा जुटेका छन् ।
यो सिरियाका थोरै मात्र मानव वस्ती रहेका ऐतिहासिक किल्लाहरूमध्ये एक हो ।
लामो समयको विस्थापनपछि टर्कीबाट स्वदेश फर्किएका मोहम्मदले आफ्नो घर पूर्ण रूपमा ध्वस्त भएको बताए । १४ वर्षपछि मातृभूमि फर्किएका उनी अहिले घरको भग्नावशेष हटाउन व्यस्त छन् । बिजुलीको अभावका कारण उनी हाल ब्याट्री र सौर्य ऊर्जामा निर्भर छन् ।


उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘विस्थापनको जीवन अत्यन्तै कष्टकर हुँदो रहेछ । विनाश देख्दा मनमा पीडा र निराशा त हुन्छ, तर जे जस्तो भए पनि यो हाम्रो आफ्नै देश हो। म सिरिया फेरि पहिलेकै जस्तो शान्त र समृद्ध भएको देख्न चाहन्छु ।’
त्यसैगरी, ८० वर्षीया सुल्ताना अल–शेख इब्राहिम पनि लामो समयको विस्थापनपछि आफ्नी नातिनीसँगै क्षतिग्रस्त घरमा बस्न फर्किएकी छिन् । आर्थिक अभावका कारण घर मर्मत गर्न नसके पनि आफ्ना आफन्तहरूसँग पुनर्मिलन हुन पाएकोमा उनी खुशी छिन् । ‘मेरो घर भत्किएको र जलेको अवस्थामा छ, तर मलाई आफ्नो देश र आफन्तहरूसँगै बस्न पाएकोमा कुनै पछुतो छैन ।’ उनले भनिन् ।

किल्लाभित्रको यो मानवीय चहलपहलले यस ऐतिहासिक स्थललाई एक विशिष्ट पहिचान दिएको छ । हमा पुरातत्व तथा संग्रहालय विभागका प्रमुख मारवान अहमद जरबानकाअनुसार कलात अल–मदिक अन्य किल्लाहरूभन्दा फरक हुनुको मुख्य कारण यहाँको जीवन्त समुदाय हो । अन्य किल्लाहरूमा पर्यटकले केवल ऐतिहासिक स्मारकहरू मात्र देख्छन् भने यहाँ मानिसहरूको दैनिक जीवन पनि देख्न पाइन्छ ।
यद्यपि, ऐतिहासिक संरचनाको संरक्षण र बासिन्दाहरूको पुनर्निर्माणको आवश्यकताबीच सन्तुलन कायम गर्नु मुख्य चुनौती बनेको जरबानले बताए । उनकाअनुसार पर्याप्त बजेटको अभाव र बासिन्दाहरूले गर्ने आधुनिक किसिमका मर्मत कार्यले पुरातात्विक महत्वका संरचना जोगाउन कठिन भएको छ ।

‘सिरिया एउटा खुला संग्रहालय जस्तै हो, र यति ठूलो संख्यामा रहेका पुरातात्विक स्थलहरूको संरक्षणका लागि ठूलो आर्थिक स्रोतको आवश्यकता पर्दछ ।’ जरबानले थपे ।




