
कुनै समय विश्वको अवैध हिरोइन व्यापारको मुख्य स्रोत मानिने अफगानिस्तानका खेतबारीहरूमा हिजोआज बैजनी रङका अफिमका फूलहरू होइन, बरु सुनौला गहुँ र आलु लहलहाइरहेका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तस्थित मोहम्मद आगा जिल्लाका किसानहरू यतिबेला आफ्नो भविष्य र जीविकोपार्जनका लागि वैध खेतीतर्फ मोडिएका छन् ।
अफगानिस्तान सरकारले अफिम खेती, उत्पादन र लागुऔषध ओसारपसारमा देशभर प्रतिवन्ध लगाएको चार वर्ष पुग्दा त्यहाँका किसानले क्रमशः गहुँ, आलु र अन्य खाद्यान्नलाई वैकल्पिक बालीका रूपमा रोज्न थालेका छन् । यस परिवर्तनले उनीहरूलाई स्थिर आम्दानी मात्र नभई सामाजिक प्रतिष्ठा र मानसिक शान्ति समेत प्रदान गरेको छ । दश जनाको परिवार पाल्न मौसमी कृषि मजदुरका रूपमा कार्यरत बशीरले यस परिवर्तनलाई सकारात्मक रूपमा लिएका छन् ।


गहुँ काट्दै गरेका उनले भने, ‘अफिमभन्दा गहुँ खेती धेरै राम्रो छ । यसले हामीलाई वैध आम्दानीको स्रोत र स्थानीय मानिसहरूलाई रोजगारीको अवसर दिएको छ ।’
अफिम खेतीले जमिन र मानिस दुवैलाई हानी पु¥याउने उनको बुझाइ छ ।

सोही जिल्लाका अर्का किसान सबीर अहमदले आफ्ना दाजुभाइहरूसँग मिलेर ६० एकड जमिनमा अफिमको सट्टा गहुँ र आलु खेती शुरु गरेका छन् । उनी अब पुरानो खेतीतर्फ फर्कने कुनै सोचमा छैनन् ।
‘गहुँ र आलुले हामीलाई मर्यादित जीवन दिएको छ’ अहमदले भने, ‘अफिम खेतीले वर्षौंसम्म माटोको उत्पादकत्व घटाउने गर्दछ ।’
उनको फार्ममा हाल करिब १५ जना दैनिक मजदुरहरूले रोजगारी पाएका छन् ।

संयुक्त राष्ट्रसंघीय लागूऔषध र अपराध नियन्त्रण कार्यालयको हालैको प्रतिवेदनअनुसार अफगानिस्तानले पछिल्ला दशकहरूमा अवैध बाली उत्पादनमा उल्लेख्य कमी ल्याउन सफल भएको छ । सन् २०२२ को अप्रिलमा लगाइएको प्रतिवन्धपछि त्यहाँको कृषि क्षेत्रमा ठूलो रूपान्तरण देखिएको हो ।
तीन दशकदेखि कृषि पेशामा संलग्न अल्ला मोहम्मदकाअनुसार वैध कृषिले अफिमको तुलनामा बढी मानिसलाई रोजगारी प्रदान गर्दछ ।

‘अफिम खेतीले स्थानीय समुदायलाई सीमित फाइदा पु¥याउँथ्यो, तर वैध खेतीले वृक्षारोपण, सिँचाइ, कटानीदेखि ढुवानीसम्मका कार्यमा सिजनभर धेरैलाई काम दिन्छ’ उनले भने ।
कृषिमा आएको यो परिवर्तन आर्थिक मात्र नभई सामाजिक सुधारको माध्यम पनि बनेको छ । अघिल्लो दुई दशकमा अफगानिस्तानका करिव ४० लाख मानिस लागुऔषधको दुव्र्यसनीमा परेको सरकारी तथ्यांक छ । काबुल जोड्ने राजमार्ग नजिकै ६ एकड जमिनमा खेती गरिरहेका हाजी ख्वानीले आफ्नो समाज र आउँदो पुस्तालाई लागुऔषधको जोखिमबाट बचाउन अफिम खेती त्यागेको बताए ।
यद्यपि यो परिवर्तनलाई दिगो बनाउन किसानहरूले थप सहयोगको माग गरेका छन् । धेरैजसो किसानले रासायनिक मल, उन्नत बीउ, आधुनिक सिंचाई प्रणाली, पानी भण्डारण सुविधा र उत्पादित वस्तुको उचित बजार पहुँचका लागि सरकार र अन्तर्राष्ट्रिय सहायता नियोगहरूलाई आह्वान गरेका छन् । लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा, अफगानिस्तानको यो कृषि रूपान्तरणले लागुऔषध नियन्त्रण र ग्रामीण जीविकोपार्जनमा सकारात्मक सन्देश दिएको छ । यो प्रयासलाई सफल पार्न दीर्घकालीन लगानी र पूर्वाधार विकासको आवश्यकता रहेको सरोकारवालाहरूको भनाइ छ ।




