
भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि संयुक्त राष्ट्रसंघ र विभिन्न अन्तर्राष्ट्रिय मानवीय निकायहरूले आपतकालीन प्रतिकार्यका प्रयासहरूलाई तिब्रता दिएका छन् । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले हाल खोज तथा उद्धार कार्यलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका प्रवक्ता जेन्स लार्केले भूकम्प कुनैपनि मुलुकका लागि निकै विनाशकारी विपद् हुने उल्लेख गर्दै ठूलो स्तरमा अन्तर्राष्ट्रिय परिचालन शुरु भइसकेको बताउनु भयो । प्रवक्ता लार्केकाअनुसार हाल भेनेजुएला सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यलाई सहयोग पु¥याउन सम्पूर्ण मानवीय सहायता प्रणाली परिचालन गरिएको छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो मुख्य प्राथमिकता खोज र उद्धार नै हो । हालसम्म विश्वभरबाट २५ वटा खोज, उद्धार तथा चिकित्सा टोलीहरू परिचालन भइसकेका छन्, जसमा १ हजार भन्दा बढी उद्धारकर्मीहरू संलग्न छन् र यो संख्या अझै बढ्ने क्रममा छ ।’


यसैगरी, संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तका प्रवक्ता म्याथ्यू साल्टमार्शले संस्थाले प्रभावित क्षेत्रमा आफ्ना कर्मचारी र स्रोतहरू द्रुत रूपमा परिचालन गरिरहेको जानकारी दिनुभयो । उहाँले गत वर्षको अन्त्यसम्ममा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा करिब ६९ लाख भेनेजुएली शरणार्थी र आप्रवासीहरू रहेको र तीमध्ये ४० लाखलाई सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै हालको प्राथमिकता केवल जीवितहरूको खोजी र उद्धारमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।
रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघले विपद् प्रतिकार्य आपतकालीन कोषबाट २० लाख स्वीस फ्र्याङ्क (करिब २४ लाख ७० हजार अमेरिकी डलर) तत्काल निकासा गरेको छ । महासंघले थप सहायताका लागि ५ करोड स्वीस फ्र्याङ्क (करिव ६ करोड १८ लाख अमेरिकी डलर) को आपतकालीन अपिल समेत गरेको छ ।
पानामास्थित बन्दोबस्ती केन्द्रबाट १७ टन मानवीय सहायता सामग्रीको पहिलो खेप पठाइसकिएको र यसले करिब ३ लाख मानिसलाई आश्रय, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाई र मनोवैज्ञानिक परामर्श प्रदान गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनकी प्रवक्ता जोए ब्रेननले उपलब्ध जनसांख्यिकीय तथ्याङ्क र क्षतिको प्रक्षेपणका आधारमा भेनेजुएलाभर ६७ लाख ६० हजार मानिस प्रभावित हुनसक्ने बताउनु भयो । यसमध्ये राजधानी कराकासका मात्रै २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । उहाँका अनुसार कराकासमा आधारभूत राहत सामग्रीहरू पूर्व-भण्डारण गरिएका छन् र सबैभन्दा बढी आवश्यकता भएका क्षेत्रमा वितरणका लागि तयारी भइरहेको छ ।
पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठन अन्तर्गतको प्यान अमेरिकन हेल्थ अर्गनाइजेसन र संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले पनि स्थितिप्रति चिन्ता व्यक्त गर्दै आ–आफ्नो तर्फबाट भइरहेका प्रयासहरूबारे जानकारी दिएका थिए ।





