प्रेमिका अपहरण गरेर लाने क्रममा बम बिष्फोटमा परी प्रेमीको मृत्यु

कर्नाटक, १५ असार ।  कर्नाटकको बेंगलुरुबाट तुमाकुरु जाँदै गरेको कार अचानक विस्फोट हुँदा ३० वर्षीय एक पुरुषको जलेर मृत्यु भएको छ।

कारमा रहेका एक महिला र चालक भने घाइते भएका छन् र हाल अस्पतालमा उनीहरू उपचाररत छन्।

प्रहरीका अनुसार विस्फोट हुनुभन्दा केही समय अघि उक्त पुरुषले महिलालाई अपहरण गरेका थिए,अनुसन्धानबाट मृतक आफैंले कारमा विस्फोटक पदार्थ बोकेकोसमेत देखिएको छ।

इन्डिया टुडेको रिपोर्ट अनुसार यो घटना जुन २७, शनिबार कर्नाटकको तुमाकुरु जिल्लाको सिरा तालुकको जोगीहल्ली नजिकै भएको हो। मृतकको पहिचान ३० वर्षीय नागेन्द्रको रूपमा गरिएको छ। दुर्घटनामा युवती राम्या र ट्याक्सी चालक प्रवीण घाइते भएका छन्, दुवैको तुमाकुरु जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार नागेन्द्र र राम्या पहिले प्रेम सम्बन्धमा थिए तर उनीहरूबीच पछिल्लो समयमा भने मतभेद थियो। समाचार अनुसार त्यस पछि उनले नागेन्द्रको फोन नम्बर पनि ब्लक गरेकी थिइन्।

राम्या बेंगलुरुको संजय गान्धी अस्पतालमा ओटी टेक्निसियनको रूपमा काम गर्छिन्।  शनिबार बिहान नागेन्द्र कथित रूपमा जयनगरमा राम्याको भाडाको घरमा पुगेका थिए, जहाँ दुई बीच झगडा भयो। आरोप छ कि उनले पछि राम्यालाई जबरजस्ती ट्याक्सीमा चढाएका थिए ।

राम्याका अभिभावकले जयनगर प्रहरी चौकीमा अपहरणको उजुरी दर्ता गराएका थिए । प्रहरीका अनुसार यात्राको क्रममा नागेन्द्रले राम्यालाई मार्ने र त्यसपछि आफैँले पनि ज्यान दिने धम्की दिएका थिए। उनीसँग कार भित्र पेट्रोल बम पनि रहेको प्रहरीको आशंका छ।

कल्लाम्बेल्ला प्रहरी चौकीको क्षेत्राधिकार भित्र पर्ने जोगिहल्ली नजिक पुगे पछि नागेन्द्रले गुडिरहेको कारभित्रै चक्कु प्रहार गरी राम्यामाथि आक्रमण गरेका थिए र चालकले तुरुन्तै गाडी रोके।

images

मौका पाउने बित्तिकै राम्या कारबाट बाहिर निस्किन्। केही सेकेन्ड पछि एउटा ठूलो विस्फोट भयो र गाडीमा भयंकर आगो लाग्यो। नागेन्द्र भित्रै फसे र उनको घटनास्थलमै मृत्यु भयो। विस्फोटका कारण राजमार्गमा लगभग एक किलोमिटर लामो ट्राफिक जाम भएको थियो। प्रहरीले कारबाट बम जस्तो देखिने विस्फोटक पदार्थ पनि बरामद गरेको छ।

तुमाकुरुका एसपी अशोक केभीले भने, ‘प्रारम्भिक अनुसन्धानले नागेन्द्रले विस्फोटक पदार्थ बोकेको र जानाजानी बम राखेको देखाएको छ। प्रहरीले विस्फोट कसरी भयो, प्रयोग गरिएको विस्फोटकको प्रकार र यसको स्रोतको बारेमा अनुसन्धान गरिरहेको छ।’ उनका अनुसार प्रहरीले मुद्दा दर्ता गरेको छ र सम्पूर्ण घटनाको अनुसन्धान भइरहेको छ।

images