
काठमाडौँ । इङ्ग्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । न्युजिल्यान्डविरुद्ध जारी तेस्रो टेस्ट नै उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हुनेछ ।
सन्यासको घोषणा सार्वजनिक भइरहेका बेला स्टोक्स बलिङ गरिरहेका थिए । घोषणा भएको लगत्तै उनले अर्को बलमै ज्याक फक्सलाई आउट गर्दै सम्झनलायक क्षण थपेका थिए ।

१५ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा स्टोक्सले इङ्ग्ल्यान्डका लागि धेरै ऐतिहासिक इनिङ्स खेले । सन् २०१९ को एकदिवसीय विश्वकप फाइनल र त्यही वर्षको एसेज सिरीजको हेडिङ्ले टेस्टमा उनको प्रदर्शन क्रिकेट इतिहासकै उत्कृष्टमध्ये एक मानिन्छ । यद्यपि उनको करियर दुई पटक नाइट क्लबसँग सम्बन्धित विवादका कारण पनि चर्चामा रह्यो ।


स्टोक्सले आफ्नो सन्न्यासको निर्णय टोलीलाई पहिले नै जानकारी गराएका थिए । तेस्रो टेस्टको चौथो दिनको खेल सुरु हुनुअघि ड्रेसिङ रुममा उनले भावुक सम्बोधन गर्दै टोलीका लागि आफूले सधैं सबै कुरा दिएको र अब अन्तिम पटक पनि पूरा शक्ति लगाउने समय आएको बताएका थिए ।
उनले खेलाडीहरूलाई अन्तिम दुई दिन मैदानमा शतप्रतिशत दिन आग्रह गर्दै भावनात्मक पक्षलाई पछाडि छोडेर अब जितका लागि खेल्नुपर्ने बताएका थिए ।

सन् २०१९ को एकदिवसीय विश्वकप फाइनलमा स्टोक्सले न्युजिल्यान्डविरुद्ध अविजित ८४ रन बनाएर इङ्ग्ल्यान्डलाई पहिलो पटक विश्व च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सुपर ओभर पनि बराबरी भएपछि बाउन्ड्री गणनाका आधारमा इङ्ग्ल्यान्ड विजेता बनेको थियो ।
विश्वकप जितेको छ सातापछि भएको एसेज सिरीजको हेडिङ्ले टेस्टमा इङ्ग्ल्यान्डले ३५९ रनको लक्ष्य पछ्याउँदा २८६ रनमा ९ विकेट गुमाइसकेको थियो । त्यसपछि स्टोक्सले अविजित १३५ रनको असाधारण इनिङ्स खेल्दै इङ्ग्ल्यान्डलाई ऐतिहासिक जित दिलाएका थिए । त्यसैगरी सन् २०२२ को ट्वान्टी–२० विश्वकप फाइनलमा पाकिस्तानविरुद्ध अविजित ५२ रन बनाउँदै उनले इङ्ग्ल्यान्डलाई दोस्रो पटक ट्वान्टी–२० विश्वकप उपाधि जिताउन निर्णायक भूमिका निर्वाह गरेका थिए ।


सन् २०१७ मा वेस्ट इन्डिजविरुद्धको खेलपछि ब्रिस्टलस्थित एक नाइट क्लब बाहिर भएको झडपमा संलग्न भएको आरोपमा स्टोक्स पक्राउ परेका थिए । त्यसपछि उनी उपकप्तान पदबाट हटाइएका थिए भने एसेज सिरिजबाट पनि बाहिरिएका थिए । पछि अदालतले उनलाई निर्दोष ठहर गरे पनि इङ्ग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले खेलको छवि बिगारेको भन्दै जरिवाना र निलम्बनको कारबाही गरेको थियो । यस वर्ष न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिजकै क्रममा पनि उनी अर्को नाइट क्लब विवादमा तानिएका थिए । टोलीको मध्यरातको नियम उल्लङ्घन गरेको आरोपमा उनी दोस्रो टेस्टबाट बाहिरिएका थिए । पछि अनुसन्धानले गम्भीर आरोपबाट सफाइ दिए पनि नियम उल्लङ्घन गरेको भन्दै लिखित चेतावनी दिइएको थियो ।
स्टोक्सले इङ्ग्ल्यान्डका लागि १२२ टेस्ट खेल्दै १४ शतक र ३७ अर्धशतकसहित सात हजारभन्दा बढी रन बनाएका छन् । उनले टेस्टमा २५२ विकेट पनि लिएका छन् । सन् २०२२ अप्रिलदेखि उनी इङ्ग्ल्यान्डको टेस्ट टोलीका कप्तान थिए र ४४ टेस्टमा कप्तानी गरेका थिए । यस्तै उनले ११४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ५ शतक र २४ अर्धशतकसहित ३ हजार ४६३ रन बनाएका छन् भने ७४ विकेट लिएका छन् । ४३ टी- २० अन्तर्राष्ट्रिय खेलमा उनले ५८५ रन बनाउनुका साथै २६ विकेट पनि हात पारेका छन् ।




