
इराकी विदेशमन्त्री फुवाद हुसेन र उहाँका इरानी समकक्षी सैयद अब्बास अराघचीबीच आईतवार बगदादमा भेटवार्ता भएको छ । सो अवसरमा दुई नेताहरूबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाका विविध आयामबारे विस्तृत छलफल भएको छ । इराकी परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, विदेशमन्त्री हुसेनले दुई छिमेकी मुलुकबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा निरन्तर समन्वय र परामर्शको आवश्यकतामा जोड दिनुभएको छ ।
मन्त्री हुसेनले क्षेत्रीय सुरक्षा र स्थिरता सुदृढ गर्न बगदादले आफ्ना कूटनीतिक प्रयासहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । भेटका क्रममा इरानी विदेशमन्त्री अराघचीले इराकलाई इरानको एक घनिष्ठ मित्र, छिमेकी र रणनीतिक साझेदारको रूपमा चित्रण गर्नुभयो ।


उहाँले विभिन्न क्षेत्रमा इराकलाई इरानको पूर्ण समर्थन रहने कुरा दोहो¥याउनुभएको छ । मन्त्री अराघचीले हालै इरान र अमेरिकाबीच भएको शान्ति समझदारीपत्रलाई अन्तिम सम्झौतामा पुग्ने प्रारम्भिक कदमको रूपमा व्याख्या गर्नुभयो । उहाँले व्यापक युद्धविरामको कार्यान्वयन र त्यसले क्षेत्रीय स्थिरता एवं सुरक्षामा पु¥याउन सक्ने सकारात्मक प्रभावबारे इरानको दृष्टिकोण समेत प्रस्तुत गर्नुभएको थियो ।

यद्यपि, शान्ति समझदारी र वार्ता प्रक्रिया जारी रहेकै समयमा गत सप्ताहान्तमा अमेरिका र इरानबीच सैन्य तनाव भने देखिएको छ । हर्मुज जलसन्धिमा व्यापारिक जहाजहरूमाथि अवरोध सिर्जना गरेको आरोप लगाउँदै अमेरिकाले शुक्रवार र शनिबार इरानी लक्ष्यहरूमा आक्रमण गरेको थियो । त्यसको जवाफमा इरानले पनि पश्चिम एसियामा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा आक्रमण गरेको समाचारमा जनाइएको छ ।




