भेनेजुएलामा भूकम्पमा मृत्यु हुनेको संख्या १७१९ पुग्यो

काठमाडौँ । गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक हजार ७१९ पुगेको छ । राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले सार्वजनिक गरेको विवरणअनुसार हजारौँ मानिस प्रभावित भएका छन् भने उद्धार तथा राहत कार्य अझै जारी छ ।

सरकारी विवरणअनुसार भूकम्पबाट कम्तीमा २२ हजार ६१९ जना प्रभावित भएका छन् । तीमध्ये पाँच हजार ३४ जना घाइते भएका छन् । साथै ८५५ वटा भवनमा क्षति पुगेको छ, जसमध्ये १८९ वटा भवन पूर्ण रूपमा भत्किएका छन् ।

गत बुधबारदेखि हालसम्म ६०९ वटा पराकम्पन महसुस गरिएको अधिकारीहरूले बताएका छन् । सोमबार पनि एउटा पराकम्पन व्यापक रूपमा महसुस भए पनि त्यसबाट थप ठूलो क्षति नभएको जनाइएको छ ।

यसैबीच, अमेरिकी भूगर्भीय सर्वेक्षणले भूकम्पको अन्तिम मृत्यु संख्या १० हजार वा त्यसभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत रहेको आकलन गरेको छ ।

अर्कोतर्फ, अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले उपग्रहबाट प्राप्त राडार तथ्याङ्कको प्रारम्भिक विश्लेषणका आधारमा मध्य तथा उत्तरी भेनेजुएलामा करिब ५८ हजार ८७० वटा भवन क्षतिग्रस्त वा ध्वस्त भएको अनुमान सार्वजनिक गरेको छ ।

युरोपेली अन्तरिक्ष निकायद्वारा सञ्चालन गरिएको ‘सेन्टिनेल–१’ उपग्रहको राडार तथ्याङ्क प्रयोग गरेर तयार गरिएको उक्त प्रारम्भिक अध्ययनलाई स्थलगत रूपमा अझै पुष्टि नगरिएको जनाइएको छ । त्यसैले यसलाई प्रारम्भिक संकेतका रूपमा मात्र लिन अनुसन्धानकर्ताहरूले आग्रह गरेका छन् ।