
काठमाडौं, १६ असार । जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको बोस्टन रंगशालामा मंगलबार बिहान भएको अन्तिम ३२ को खेलमा पाराग्वेले चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको हो ।


निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको हो । जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो ।

पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले पेनाल्टी सुटआउटमा गोल गरेका हुन् भने जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे ।


काभइ हाभार्ट र निक वाल्टमेडको पेनाल्टी पाराग्वेका गोलकिपरले बचाए भने जोनाथन ताहाको प्रहार पोस्ट भन्दा बाहिर गए पछि जर्मनीको विश्वकप यात्रा रोकिन पुगेको हो ।
त्यसअघि जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई पहिले अग्रता दिलाएका थिए । काई हाभार्टले ५४औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काएका थिए ।

पाराग्वेले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ । फ्रान्स र स्विडेनबीचको खेल बुधबार बिहान हुनेछ । जर्मनी जारी विश्वकपबाट बाहिरिने दोस्रो पूर्व विजेता बनेको छ । यसअघि ने उरुग्वे समूह चरणबाटै बाहिरिसकेको छ ।




