भग्नावशेषमुनि पुरिएपछि मानिसहरू कति दिन बाँच्न सक्छन् ?

काठमाडौं । भूकम्पका कारण भवन भत्किएर मानिसहरू भग्नावशेषमा पुरिँदा उनीहरू कति समयसम्म जीवित रहन सक्छन् भन्ने प्रश्न हरेक ठूलो विपत्तिपछि उठ्ने गर्छ । हालै भेनेजुएलामा एक मिनेटको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि कम्तीमा ५८ हजार भन्दा बढी भवनमा क्षति पुगेको आँकडा बाहिर आएको छ भने उद्धार टोलीहरू भग्नावशेषमा पुरिएका मानिसको खोजीमा जुटेका छन् ।

विज्ञहरूका अनुसार भग्नावशेषमा पुरिएको व्यक्ति कति समयसम्म बाँच्न सक्छ भन्ने कुरा एउटै कारणले तय हुँदैन । व्यक्ति कसरी पुरिएको छ, सास फेर्न हावा पुगिरहेको छ कि छैन, पानी उपलब्ध छ कि छैन, कति चोट लागेको छ, मौसम कस्तो छ र शारीरिक तथा मानसिक अवस्था कस्तो छ भन्ने कुराले जीवन र मृत्युको सम्भावना निर्धारण गर्छ।

पहिलो २४ घण्टा सबैभन्दा महत्वपूर्ण

उद्धार विशेषज्ञहरूका अनुसार अधिकांश जीवित व्यक्तिलाई भूकम्पपछि पहिलो २४ घण्टाभित्रै उद्धार गरिन्छ । यद्यपि केही घटनामा धेरै दिनपछि पनि मानिसहरू जीवित फेला परेका उदाहरण छन् । संयुक्त राष्ट्रसंघले सामान्यतया पाँचदेखि सात दिनसम्म उद्धार अभियान सञ्चालन गर्छ । लगातार एक-दुई दिनसम्म कुनै पनि जीवित व्यक्ति नभेटिएपछि मात्रै अभियान अन्त्य गरिन्छ ।

सही तरिकाले जोगिन सके बाँच्ने सम्भावना बढ्छ

विशेषज्ञहरूका अनुसार भूकम्प आउँदा अपनाइने सही सावधानीले जीवन बचाउन ठूलो भूमिका खेल्छ । बलियो टेबल वा फर्निचरमुनि बसेर टाउको जोगाउने अभ्यासले भग्नावशेषभित्र सानो खाली ठाउँ बन्न सक्छ, जसले सास फेर्न आवश्यक हावा उपलब्ध गराउन सक्छ । उद्धारकर्मीहरूले ‘झुक्ने, सुरक्षित वस्तुमुनि आश्रय लिने र त्यसलाई मजबुत रूपमा समातिरहने’ अभ्यासलाई सबैभन्दा प्रभावकारी उपाय मान्छन् । उनीहरूका अनुसार विपत्तिपूर्वको जनचेतना, अभ्यास र तालिमले नै धेरैको ज्यान जोगाउन सक्छ ।

हावा र पानी जीवनका आधार

भग्नावशेषमा पुरिएको व्यक्तिका लागि सबैभन्दा आवश्यक कुरा अक्सिजन र पानी हो । यदि गम्भीर चोट नलागेको छ र सास फेर्न सकिने खाली ठाउँ उपलब्ध छ भने बाँच्ने सम्भावना उल्लेखनीय रूपमा बढ्छ । विज्ञहरूका अनुसार पानी नपाउँदा सामान्य अवस्थामा मानिस तीनदेखि सात दिनसम्म मात्र बाँच्न सक्छ । शरीरबाट लगातार पानी कमी हुँदै जाँदा निर्जलीकरण हुन्छ र अवस्था गम्भीर बन्छ ।

गम्भीर चोटले जोखिम बढाउँछ

images

टाउको, मेरुदण्ड वा छातीमा गम्भीर चोट लागेको अवस्थामा जीवित रहने सम्भावना निकै कम हुन्छ । अत्यधिक रक्तस्राव, भित्री अंगमा चोट वा धेरै हड्डी भाँचिएको अवस्थामा समयमै उपचार नपाए ज्यान जान सक्छ ।  त्यस्तै उद्धारपछि पनि खतरा समाप्त हुँदैन । लामो समयसम्म भारी संरचनामुनि च्यापिएपछि हुने क्रस सिन्ड्रोम का कारण मांसपेशीमा जम्मा भएका विषालु पदार्थ अचानक रगतमा मिसिँदा बिरामीको अवस्था थप गम्भीर हुन सक्छ ।

मौसमले पनि असर पार्छ

images

चिसो क्षेत्रमा शरीरको तापक्रम छिट्टै घट्ने भएकाले हाइपोथर्मिया हुने जोखिम बढ्छ । अत्यधिक गर्मी भएका स्थानमा भने शरीरबाट पानी छिटो बाहिरिने भएकाले निर्जलीकरण हुने सम्भावना बढी हुन्छ । त्यसैले मौसमले पनि जीवित रहने समयलाई प्रत्यक्ष असर गर्छ ।

images

मानसिक दृढता पनि उत्तिकै आवश्यक

विशेषज्ञहरूका अनुसार कठिन परिस्थितिमा मानसिक रूपमा संयमित रहनु अत्यन्त महत्वपूर्ण हुन्छ । अत्यधिक डराएर कराउने वा अनावश्यक रूपमा शरीर चलाउँदा ऊर्जा र अक्सिजन दुवै बढी खर्च हुन्छ । उद्धारकर्मीहरूका अनुसार शान्त रहनु, ऊर्जा जोगाउनु र आफूलाई उद्धार गरिने आशा कायम राख्नुले बाँच्ने सम्भावना बढाउँछ ।

धेरै दिनपछि पनि जीवित उद्धार भएका उदाहरण

विश्वका विभिन्न भूकम्पमा आश्चर्यजनक रूपमा धेरै दिनपछि पनि मानिसहरू जीवित फेला परेका छन् ।

Nepal life insurance

– सन् १९९५ मा दक्षिण कोरियामा एक व्यक्ति १० दिनपछि जीवित उद्धार भएका थिए ।

– सन् २०१३ मा बङ्गलादेशमा भवन भत्किँदा एक महिला १७ दिनपछि जीवित निकालिएकी थिइन् ।

– सन् २०१० को हैटी भूकम्पमा एक व्यक्ति १२ दिनपछि तथा अर्का एक व्यक्ति २७ दिनपछि जीवित फेला परेका थिए ।

– सन् २००५ मा पाकिस्तान प्रशासित कश्मीरमा आएको भूकम्पपछि ४० वर्षीया एक महिला करिब दुई महिनापछि आफ्नै भान्साको भग्नावशेषबाट जीवित उद्धार भएकी थिइन् ।

विज्ञहरूका अनुसार यस्ता घटनाले सही परिस्थितिमा, पर्याप्त हावा, थोरै पानी र बलियो मानसिक अवस्थाको सहाराले मानिसले सामान्य अनुमानभन्दा धेरै समयसम्म पनि जीवन जोगाउन सक्ने देखाएको छ ।