
काठमाडौं । कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुशनर दोहा आइपुगेको जनाएको छ । तर उनीहरूको इरानी अधिकारीसँग प्रत्यक्ष भेटवार्ता नहुने स्पष्ट पारेको छ ।
कतारका अनुसार दुवै अमेरिकी प्रतिनिधिले कतारी अधिकारीसँग भेट गरी अमेरिका-इरानबीच जारी वार्तालाई अगाडि बढाउने विषयमा छलफल गर्नेछन् । उनीहरूले कतारको मध्यस्थतामार्फत दुवै देशबीच संवादलाई निरन्तरता दिने प्रयास गर्नेछन् ।

कतारले आफ्नो देशमा रोकिएको इरानको ६ अर्ब अमेरिकी डलर बराबरको रकम अझै तेहरान नपठाइएको स्पष्ट गरेको छ ।


ह्वाइट हाउसका एक अधिकारीका अनुसार स्टिभ विटकफ र जेरेड कुशनरले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानी तथा अन्य मध्यस्थकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसैगरी, अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच कतार र पाकिस्तानका मध्यस्थकर्ताको उपस्थितिमा प्राविधिक तहको वार्ता हुनेछ । यद्यपि दुवै पक्ष आमनेसामने बसेर छलफल गर्ने छैनन् । मध्यस्थकर्तामार्फत अलग-अलग रूपमा वार्ता अघि बढाइने जनाइएको छ ।

यसअघि पनि कतारले अमेरिकी र इरानी प्रतिनिधिबीच प्रत्यक्ष भेटवार्ता नहुने स्पष्ट पारिसकेको थियो ।
इरानले विदेशमा रोकिएको आफ्नो सम्पत्ति फिर्ता गर्नुपर्ने विषयलाई अमेरिकासँगको समझदारीको प्रमुख सर्त बनाएको छ । इरानले आफ्नो रकम फुकुवा नभएसम्म शान्ति सम्झौतासम्बन्धी प्रक्रिया अगाडि नबढाउने अडान लिएको छ ।

इरानी अधिकारीहरूका अनुसार यो सर्त समझदारीपत्रमा समावेश गरिएको छ । सम्झौताको धारा ११ मा विदेशमा रोकिएको इरानी सम्पत्ति फुकुवा गर्ने व्यवस्था गरिएको बताइएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले कतारमा रोकिएको इरानको १२ अर्ब अमेरिकी डलरमध्ये ६ अर्ब डलर फुकुवा गर्न अमेरिका सहमत भएको बताएका छन् ।
इरानले उक्त रकम आफ्नै सम्पत्ति भएको र अमेरिकी प्रतिबन्धका कारण वर्षौंदेखि विदेशमा रोकिएको दाबी गर्दै आएको छ । त्यसैले सबैभन्दा पहिले आफ्नो रकममा पूर्ण पहुँच सुनिश्चित भएपछि मात्र अमेरिकासँग थप वार्ता र सम्झौता कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने उसको अडान रहेको छ ।




