आर्टिफिसियल इन्टेलिजेन्स चिप उत्पादनका लागि दक्षिण कोरियाली कम्पनीहरूद्वारा खर्बौं डलरको लगानी घोषणा

दक्षिण कोरियाका प्रमुख मेमोरी चिप निर्माता कम्पनीहरू सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि आवश्यक चिपको बढ्दो मागलाई सम्बोधन गर्न ठूलो परिमाणको लगानी योजना घोषणा गरेका छन् ।

राष्ट्रपति ली जे म्युङद्वारा आयोजित एक राष्ट्रिय ब्रिफिङमा एसके समूहका अध्यक्ष चे ताए–वोनले नयाँ सेमिकन्डक्टर उत्पादन लाइन निर्माणका लागि १ हजार १०० ट्रिलियन वन (करिव ७१३ अर्ब अमेरिकी डलर) र एआई डाटा सेन्टरहरूका लागि १ हजार ट्रिलियन वन (करिव ६४८ अर्ब अमेरिकी डलर) लगानी गर्ने जानकारी दिनुभयो । अध्यक्ष चेकाअनुसार उहाँको समूहले आगामी १० वर्षसम्म वार्षिक औसत १०० ट्रिलियन वन (करिव ६५ अर्ब डलर) भन्दा बढी स्वदेशी लगानीलाई निरन्तरता दिनेछ ।

यसैगरी, सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली जे–योङले नयाँ सेमिकन्डक्टर उत्पादन लाइनका लागि दक्षिण–पश्चिमी शहर ग्वाङ्जुलाई सम्भावित स्थलका रूपमा विचार गरिरहेको बताउनु भयो । उहाँले चुङचेओङ प्रान्तमा उच्च ब्यान्डविथ मेमोरी (एचबीएम) उत्पादन केन्द्र निर्माण गर्ने र उत्तर ग्येओङसाङ प्रान्तमा एआई डाटा सेन्टर तथा रोबोटिक्सका क्षेत्रमा लगानी केन्द्रित गर्ने योजना रहेको खुलासा गर्नुभयो ।

ठूलो मात्रामा हुन लागेको यस स्वदेशी लगानीप्रति राष्ट्रपति लीले आभार प्रकट गर्दै सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।