
काठमाडौँ । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका छन् ।
झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ह्युबर्ट एच. हम्फ्रे फेलोसिप अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा संलग्न थिए । उक्त कार्यक्रममार्फत झाले शिक्षा, नेतृत्व, सार्वजनिक नीति तथा सुशासनका विषयमा अध्ययनसँगै विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरिरहेका छन् ।

यसअघि झा काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यको रूपमा कार्यरत थिए ।
उनले टिचर्स फर नेपालमा सञ्चालन निर्देशक, भर्ती तथा छनोट निर्देशक र भर्ती व्यवस्थापकका रूपमा करिब आठ वर्ष काम गर्दै संस्थागत रणनीति, मानव स्रोत व्यवस्थापन, शिक्षक छनोट प्रणाली, नेतृत्व विकास, सञ्चार तथा साझेदारी विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


दक्षिण कोरिया, केन्या, बंगलादेश, अष्ट्रेलिया, चिली, थाइल्यान्ड, भारत, फिलिपिन्स तथा युरोपका विभिन्न देशमा आयोजना भएका शिक्षा, नेतृत्व, विपद् जोखिम न्यूनीकरण, सार्वजनिक नीति र नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र कार्यशालामा उनले नेपालको प्रतिनिधित्व गरेका छन् ।

शिक्षा प्रशासन, सार्वजनिक नीति, सुशासन, नेतृत्व विकास, रणनीतिक योजना, उद्यमशीलता, परियोजना व्यवस्थापन, प्रविधि र नवप्रवर्तन उनका प्रमुख विशेषज्ञताका क्षेत्र हुन् । शिक्षा सुधार, युवा विकास, राजनीतिक नेतृत्व, सामाजिक रूपान्तरण तथा सार्वजनिक नीतिका विषयमा उनका विभिन्न अनुसन्धान, लेख र विश्लेषण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माध्यममा प्रकाशित छन् ।




