विश्वकपको समूह चरणमा ८९ हजार आपत्तिजनक पोस्ट, जातीय दुर्व्यवहारसमेत बढ्यो

काठमाडौँ । फिफा विश्वकप फुटबलको समूह चरणका खेलहरूका क्रममा खेलाडी, टोली र खेल अधिकारीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा गरिएका अपमानजनक तथा आपत्तिजनक सामग्रीमा उल्लेख्य वृद्धि भएको फिफाले जनाएको छ ।

फिफाले सार्वजनिक गरेको विवरणअनुसार समूह चरणमा मात्रै ८९ हजार आपत्तिजनक सामाजिक सञ्जाल पोस्ट पहिचान गरिएको छ । यो संख्या सन् २०२२ मा कतारमा भएको विश्वकपको तुलनामा १३ गुणा बढी हो ।

फिफाको सामाजिक सञ्जाल सुरक्षा सेवाले प्रतियोगिताका क्रममा ६० लाखभन्दा बढी पोस्ट र टिप्पणीको विश्लेषण गरेको थियो । यो सन् २०२२ को विश्वकपको तुलनामा ३३ प्रतिशत बढी हो । विश्लेषण गरिएका सामग्रीमध्ये ११ प्रतिशत जातीय दुर्व्यवहारसँग सम्बन्धित रहेको फिफाले जनाएको छ । समूह चरणमा जातीय विभेद र भेदभावपूर्ण टिप्पणीको अनुपात अघिल्लो विश्वकपको तुलनामा तीन प्रतिशतले बढेको पनि फिफाले उल्लेख गरेको छ ।

फिफाका अनुसार सामाजिक सञ्जाल सुरक्षा सेवा प्रतियोगितामा सहभागी सबै टोली, खेलाडी, प्रशिक्षक र खेल अधिकारीलाई जातीय दुर्व्यवहार, भेदभावपूर्ण अभिव्यक्ति तथा धम्कीपूर्ण सन्देशबाट जोगाउन सञ्चालन गरिएको हो । अत्याधुनिक प्रविधि र मानवीय निगरानीको संयोजनबाट आपत्तिजनक सामग्री पहिचान गरी फिल्टर तथा अवरुद्ध गर्ने व्यवस्था गरिएको छ । यसले खेलाडीका अनुयायीलाई पनि यस्ता सामग्रीबाट सुरक्षित राख्ने काम गर्छ । निगरानीका क्रममा करिब दुई लाख २५ हजार पोस्टलाई थप मानवीय समीक्षा गरिएको थियो । तीमध्ये ८९ हजार पोस्ट आपत्तिजनक ठहरिएपछि आवश्यक कारबाही गरिएको फिफाले जनाएको छ । साथै करिब एक हजार सामाजिक सञ्जाल खाता थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

यसपटक विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट ४८ पुर्‍याइएकाले सामाजिक सञ्जाल गतिविधि र विश्लेषण गरिएका सामग्रीको मात्रा पनि उल्लेख्य रूपमा बढेको फिफाले जनाएको छ । स्वचालित निगरानी प्रणालीले टोलीका आधिकारिक सामाजिक सञ्जाल खातामा गरिएका करिब एक लाख ८१ हजार घृणास्पद टिप्पणी स्वतः लुकाएको थियो । त्यस्तै, अवाञ्छित सन्देश, स्वचालित खाता र नक्कली खाताबाट गरिएका टिप्पणीसहित २० लाखभन्दा बढी प्रतिक्रियाको निगरानी गरिएको थियो, जुन सन् २०२२ को विश्वकपको तुलनामा चार गुणा बढी हो ।

फिफाका अनुसार सामाजिक सञ्जाल सुरक्षा सेवा अब आपत्तिजनक सामग्री हटाउने कार्यमा मात्र सीमित छैन । यसले कानुन कार्यान्वयन गर्ने निकायका लागि प्रमाण सङ्कलन गर्ने काम पनि गरिरहेको छ । हालसम्म कानुनी कारबाहीका लागि आवश्यक मापदण्ड पूरा गर्ने १०० भन्दा बढी घटनाको पहिचान भइसकेको छ र ती घटनामा मुद्दा तयारीको प्रक्रिया अघि बढाइएको फिफाले जनाएको छ ।