
काठमाडौं । रूसले युक्रेनको राजधानी किभमा फेरि ठूलो स्तरको ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
बुधबार राति गरिएको आक्रमणमा अन्य धेरै मानिस घाइते भएका युक्रेनी अधिकारीहरूले जनाएका छन् । आक्रमणपछि शहरका विभिन्न क्षेत्र खाली गराइएको थियो भने शक्तिशाली विस्फोटका कारण राजधानीका धेरै भवनहरू हल्लिएका थिए ।


यो आक्रमण युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले ठूलो स्तरको आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि भएको हो ।

किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार मृतक तथा घाइतेको संख्या उल्लेखनीय रहेको छ । उनका अनुसार पीडितमध्ये बालबालिका पनि छन् ।
उनले रूसले जानाजानी आवासीय क्षेत्रलाई निशाना बनाउँदै सर्वसाधारणको ज्यान लिइरहेको आरोप लगाए । यता, रूसको रक्षा मन्त्रालयले भने हालै युक्रेनले गरेका आक्रमणको जवाफस्वरूप ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ ।





