
दक्षिणी इजिप्टको अस्युत प्रान्तमा एउटा गुडिरहेको इन्जिनयुक्त ट्राइसाइकल नहरमा खस्दा नौ बालबालिकाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार मंगलवार भएको यस दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । अस्युत गभर्नरेटद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उक्त दुर्घटना अबु टिग जिल्लामा भएको हो ।
दुर्घटना लगत्तै गभर्नर मोहम्मद अल्वानले घटनास्थलको भ्रमण गरी खोज तथा उद्धार कार्यको निरीक्षण गर्नुभएको थियो । उहाँले उद्धार कार्यलाई प्रभावकारी बनाउन कार्यकारी, सुरक्षा र उद्धार निकायहरूबीच आवश्यक समन्वय समेत गर्नुभएको छ । गभर्नर अल्वानले यस दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिकको जीवन रक्षा र सुरक्षा नै प्रशासनको उच्च प्राथमिकता रहेको बताउनु भयो । उहाँले पीडितको सहयोग र उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिएको जानकारी दिनुभयो ।



भविष्यमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिन गभर्नरले जलस्रोत तथा सिंचाई अधिकारीहरूसँगको समन्वयमा नहरका दुवै किनारमा कङ्क्रिट ब्यारियर (अवरोध) र अन्य सुरक्षात्मक उपायहरू तत्काल जडान गर्न निर्देशन दिनुभएको छ । स्थानीय प्रशासनले हालसम्म नौ जनाको मृत्यु भएको र दुई जना घाइते भएको पुष्टि गरेको छ । दुर्घटनाको सम्बन्धमा आवश्यक कानूनी र स्थलगत प्रक्रियाहरू जारी रहेको अधिकारीहरूले जनाएका छन् ।




