इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा ३० भन्दा बढी देश सहभागी हुने

इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोहमा ३० भन्दा बढी देशका प्रतिनिधि र ९० भन्दा बढी राष्ट्रका धार्मिक नेताहरू सहभागी हुने भएका छन् । इरानका गृह राज्यमन्त्री एवं अन्त्येष्टि व्यवस्थापन मुख्यालयका प्रमुख अली अकबर पुरजमशिदियनले आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।

उहाँकाअनुसार आगामी शुक्रवार तेहरानमा विदेशी नेता, उच्च अधिकारी र धार्मिक व्यक्तित्वहरूको उपस्थितिमा दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गर्न एक विशेष समारोह आयोजना गरिनेछ । अन्त्येष्टि कार्यक्रमको तालिकाअनुसार आगामी शनिवार बिहानदेखि आईतवारसम्म तेहरानस्थित इमाम खोमेनी मोसल्लामा बिदाइ समारोह सञ्चालन हुनेछ । सोमवार मुख्य अन्त्येष्टि जुलुस निकालिने कार्यक्रम छ, जसमा इरान र अन्य क्षेत्रीय मुलुकहरूबाट ठूलो संख्यामा जनसहभागिता रहने अपेक्षा गरिएको छ ।

पुरजमशिदियनकाअनुसार जुलाई ७ मा इरानको मध्य शहर कोममा विशेष समारोह आयोजना गरिनेछ भने जुलाई ८ मा धार्मिक विधिहरूका लागि खामेनीको पार्थिव शरीरलाई छिमेकी मुलुक इराक लगिनेछ । अन्त्यमा जुलाई ९ मा इरानको उत्तरपूर्वी शहर मशहदमा उनको अन्त्येष्टि गरिनेछ ।

गत फेब्रुअरी २८ मा तेहरानमा अमेरिका र इजरायलले गरेको आक्रमणमा सर्वोच्च नेता खामेनीको मृत्यु भएको थियो । उहाँको निधनपछि गत मार्च महिनामा इरानको ‘एसेम्बली अफ एक्सपट्र्स’ ले उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिसकेको छ ।